
भ्रमित मान्छेहरू
बाँचेको सहर हो यो
जहाँ आम मान्छेका
चाहनाका बग्रेल्ती उच्छ्वासहरूमा
विवशताका जब्बरे ताल्चा लाग्छन्
निर्धा र सोझासिधा भुइँ मान्छेहरु
थाहै नपाई बलिमा चढ्छन्
र जीवन सकाउँछन्
थाहा छ
यो सफेद आकाशमुनिको धर्ती
कुइरीमण्डल छ धुँवा र धुलोले
माथिको गगन दुरुस्तै
ढाकिएको छ
अस्वस्थ्य बादलले
सहर दुर्गन्धित छ
र त दुङदुङी गन्हाउँछ
भ्रष्टाचारको फोहरले
यहाँ
भुइँ मान्छे आशाको बिस्कुन सुकाउँछ
बदलामा महङ्गीले ढाड सेकाउँछ
भुइँ मान्छे श्रम र सिप पोखेर बाँच्ने रहर गर्छ
इमानदारीताको रगत र पसिना बगाउँछ
र स्वाभिमानको मोल खोज्छ
तर बेइमान बनिदिन्छ सहर
र उसको सौम्य मुहारमा दुःख पोतिदिन्छ
अभाव र पीडाहरूमा पिल्सिरहन्छ
पल पलको दुःखका
चिमोट्याईंहरूमा परिरहन्छ
सहर आफ्नो कुरूप वर्तमानमा छ
यसैले त भुइँ मान्छेका
उन्मुक्त वैँश,जोश र जाँगरिलो समय
ह्रदयदेखिको पवित्र फूलरुपी मुस्कान
सबलाई दुःखको कालो पोतेर
अभावको रापमा सेकेर
समाप्ति गरिदिन्छ भुइँ मान्छेका सपनाहरू
अफसोच, अन्त्यमा
अभावको भस्मासुरे लखेटाइमा
पराजित भएर
सपनालाई भ्रम देख्न
बाध्य पारिन्छ भुइँ मान्छे
अनि यसरी नै
भुइँ मान्छेका सपनाको अवसान गराउँछ
यो निर्मोही सहर ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

