महादेवको लिङ्ग खोसेर
वेपत्ता छ समय
कैलाश पर्वतकै हिम् कुण्डहरूमा
पार्वतीहरू प्रसव पीडाले छट्पटाइरहेछन्
भयानक गणेशहरू जन्माउन
नन्दी भिरङ्गीहरूको
डमरु ठोक्न छोड
मृदङ्ग बजाउन छोड
वमभोले अलख जगाउन छोड
महादेवको मृत्यु भइसक्यो
आर्यघाटको बागमतीमा
ढोङी बिरालाहरू जस्तै
भोलेबाबाहरू
वेश्यालयको शौचालयमा
धोती मिलाउने पालो रुङि रहेछन्
बुढो बकुल्लाले किनार बिस्ट्याउँदै
समुद्रको माछा रुङे जस्तै
साइँदुवा नारदहरू
नकच्चरा विष्णुहरू
अहिले पनि जलन्धरहरूलाई
बलिवेदिमा होमेर
वृन्दाहरूको इज्जत लुटी रहेछन्
छदम भेषका महादेवहरू
गोमाहरूलाई सास्ती दिइरहेछन्
समय झोक्राइरहेको छ
दाँत फुस्किसकेको
बुढो फ्याउरो जस्तो
जिउँदा मान्छेका लासहरू पर्खेर
लुतुतु, तेनेने र्याल चुहाउँदै
चतुर्मुखे ब्रम्हा
कस्ता मान्छे पठायौ मर्त्यलोकमा
मान्छेकै सिकार गरेर
रगतका पसलहरू थाप्न
भस्मासुरका हातहरू कहाँ छन् ?
पाखण्डीहरूका शिर डाम्नलाई
यमराजका दूतहरू कहाँ छौ ?
कराही लिएर आऊ
भकभकी तेल उमालेर
लाशह? तार्न
ए मौन जीवनहरू
अब त बोलन बोले हुन्छ
गोमा र वृन्दाहरूले
महादेवको विरुद्ध नालिस हाले हुन्छ
इन्द्रासन डगमगाइ सक्यो
इन्द्रजालीहरूलाई फाले हुन्छ
स्वर्गीय वैभवबाट
जीवनका अप्ठेरा भिरहरूमा ।