मेरो जिब्रो मलाई
मिठो मसिनो
तारेको , भुटेको
मसलेदार
चर्को, पिरो
खान नछोड भनिरहन्थ्यो
सुनिरहन्थेँ म, खाइरहन्थेँ जिब्राले मागेको

डाइबिटिज लागेनी
प्रेसर भएनी
पखाला चलेनी
भुँडी पोलेनी
टाउको दुखेनी
युरिक एसिड भएनी
जिब्रोले मागेको खाई रहेँ
ह्विस्की वियर पिइरहेँ
चुरोट बिडी तानिरहेँ
जिब्रोलाई खुसी बनाइरहेँ

एकदिन सास फेर्नै गार्हो भएपछि
डाक्टरसँग देखाएँ
रगत, फोक्सो
मिर्गौला, मुटु, दिमाग
दिसा, सबै जाँच गरियो
रिपोर्ट आयो
दुवै मृगौला ड्यामेज भएछ
फोक्सोमा क्यान्सर लागेछ
सुगर हाईको कुरै नगरौँ
ब्लड प्रेसर पनि ह्वात्तै बढेछ
सबै रिपोर्ट थाहा पाएर बेहोस भएको म
चार घन्टापछि जब होसमा आएँ
अनि पछुतो गरेँ
किन मैले जिब्रोलाई सुनेको ?
डाक्टर, छोराछोरी, श्रीमतीले
स्वस्थ र जिउले सहनेमात्र खा भन्दा
किन नसुनेको ?
डाक्टर भन्छन्, बाच्ने भए गर्नुपर्छ डाइलेसिस्
हे दैव
डाक्टरले जब डाइलेसिस सुरु गरे
म अलि ठिक भएँ

आज अलि जाती भएँ
अनि सोच्न बाध्य भएँ
किन मेरो स्वास्थ्य बिग्रिएछ ?
मेरो देशकै जस्तो ?
अनि बल्ल थाहा भयो
भोट जितेर कोट लाएको
ठुलेको जिब्रोले
युवायुवतीलाई विदेशीन बाध्य बनाएछ
नदी बेचेछ, खोला बेचेछ, अनि
अस्मिता लुटेछ, भ्रष्ट्रचार गरेछ
सहकारी खोली  घोटाला गरेछ
अनि व्हाइट बडी काण्ड
सुन काण्ड जस्ता
काण्डै काण्ड मच्चाएछ
त्यसैले देशलाई ठालुको जिब्रोले
विकास शुन्य बनाएछ
मलाई मेरो जिब्रोले विचार शुन्य बनाएझैँ

अनि प्रण गरेँ
अर्को जुनिमा म
फेरि मान्छे भएर जन्मिएँ भने
देश  ठुलेको जिभ्रोलाई जिम्मा लाउँछु
कि त मेरो खानपान जिब्राको जिम्मामा ?
यी दुवै साइलेन्ट किलर रहेछन्
एकातिर जिब्रोले मलाई
मृत्यु सैँयाको यात्रामा निकाल्दै छ भने
ठुलेको जिब्रोले देशलाई
घातक भए यी दुवै जिब्राहरू

अब यी दुवै जिब्रोलाई तह लाउनुपर्छ
जिब्रोले बोल्ने बोलीमा ताला लाउनुपर्छ

जिब्रोले मागेको खानेकुराहरूमा रोक लाउन सक्नुपर्छ
कुसंस्कार र कुरीतिलाई निकाल्नुपर्छ
अनि ठुलेले देशको विकास गर्नुपर्छ
मैले मेरो स्वास्थ्यको ।