अनेकौं विक्षिप्त संसारहरू रोपिएका
धर्तीको छातीलाई देखेर
अचम्भित बन्दो हो
सधैँ तल्तिर हेरिरहने
आकासको चिनेको अनुहार।
उसले दिनहुँ आविष्कार गर्ने कुराहरू
वाष्पीकरण भई ठूलो अमूर्त महल नै ठहड्याउँछ
अनि, उही महलमा जन्मन्छ
प्रशवपीडा बिनाको आजको मान्छे।

यात्राका समानान्तर कारकहरू
कहिले एक-अर्कालाई हेर्दै हिँड्छन्
त कहिले
घरभित्रको ध्रुवीकरणमा बाँच्ने गर्छन्।
वर्षौंदेखिको आँखै डिलनेर
पैँचो मागेर बसिरहेका जीवनका रङहरू
बैंसमा पनि रङ्गिन रूचाउँदैनन्
छक्क पर्छु!

जराले लेखिएका अक्षरहरू
वर्षौं परिभाषारहित बनेर बसिरहँदा
उन्मुक्त आकासको अक्षरविन्यास
जता…ततै छरपस्टिन्छ।
उज्यालोको विवर्तनले बाटो बिराउँदा
शुन्यताका ढोकाहरू कुरिरहन्छन्
तरङ्गको आलोकवर्षलाई।

कहिलेकाँही सोच्दछु-
जिउनेक्रमलाई नाप्ने कुनै यन्त्र किन छैन?
यात्राको प्रवाहलाई प्रकाशको सत्यता दर्शाउने मसीन किन छैन?
मनभित्रको भुइँचालोलाई स्थिर पार्ने औजार किन छैन?
भवितव्यको स्पष्टता देखिन सक्ने दुरबिन किन छैन?
तरल अभिव्यक्तिका यी धाँगाहरू
प्रसारित हुँदै टाढा….टाढा पुग्छन्
अनि, छरिन्छन्
मनभित्रको अपरान्हभरि।

पहाडको भिरमा अल्झेर बसेको
रगतमा फुलेको गुलाफ होस्
मधेसको चियाबारीमा
भोलिको अनकन्टारलाई पछ्याउँदै हिँडेका
मसिना-मसिना विरुवाहरू होस्
यहाँ त
जीवन र मृत्युको दोसाँधमा
पाठेघर र मर्गको अन्धकारलाई
छुट्ट्याउन नै चुनौति छ!!

(डुवर्स, भारत, हालः लुधियाना)

(कवि/लेखक/अनुवादक। प्रकाशित कविताकृति ‘समयाभास’। केही पत्रिकाहरूका सम्पादक। नेपाली कविताहरू बङ्गलामा अनुवाद गरी नियमित बङ्गला पत्रिकाहरूमा प्रकाशन)