राप, ताप र प्रकाश फैलाउँदै
ज्यामितीय आकारमा
बाङ्गोटिङ्गो धर्साजस्तो
प्राकृतिक नक्साजस्तै आकारमा
आफ्नै मस्त वेगमा
ध्वस्त बनाउँदै-
सूक्ष्म, साना, ठूला जीवात्माहरू
अमूल्य वनस्पति र जडिबुटीहरू
विद्रुप बनाउँदै-
सुन्दर भूआकृति र प्राकृतिक छटा
अनमोल र अनुपम वैभवहरू
रमाउँदैछु धुवाँ र खरानीमा
किनकि म आगो हुँ
***

मसँग खेलाँची गरेनौ भने
मसँग जिस्किने लस्किने गरेनौ भने
मेरो संगतले
मेरो साथ र सहयोगले
मेरो सदुपयोगले
कति सहज छ मानव जीवन
कति अगाडि बढेको छ मानव सभ्यता
मेरो उपस्थिति र अपरिहार्यता नबुझेका कहाँ हौला र तिमीले
तिम्रो चुलो र अगेनोको साथी हुँ म
तिम्रो जिब्रोको स्वादसँग
तिम्रो शरिरको न्यानोपनसँग
तिम्रा परिवारजन र आफन्तजनको स्वास्थ्यसँग
तिम्रा सहयोगी सामाजिक जीवजन्तुसँग
तिम्रा हरेक दिन, रात र बिहानीसँग
तिम्रा धेरै आवश्यक्ताहरूसँग जोडिएको छु म
तिम्रो सेवक हुँ म,
यदि बुद्धिमत्तापूर्वक सम्हाल्न सक्यौ भने
मेरो आवश्यक्ता र महत्व शायदै तिमीलाई बुझाउन पर्ला
किनकि म आगो हुँ
*** *** ***
मलाई हेपेर जिस्कायौ भने
गिजोल्यौ भने
तिम्रो स्वार्थको खातिर दुरुपयोग गर्‍यौ भने
मलाई निर्वाध छाडा छोड्यौ भने
मेरो शक्तिलाई नजरअन्दाज गर्‍यौ भने
मेरो सम्मानमा चोट पुर्‍यायौ भने
मेरो संसर्गमा पवन पौठेजोरी खेल्न तम्सियो भने
निर्जिव सुख्खा पातपतिङ्गर, खर-घाँस मसँग मितेरी गाँस्न आए भने
मेरो चेतनाशून्य ईगो-चक्षु सक्रिय हुनेछ
मेरो विवेकसून्य गति मैमत्ता हुनेछ
र, मैले कसैलाई पनि चिन्न सक्ने छैन
मेरो वेग अनपेक्षितरुपले बढ्ने छ
सुन्दरतम् दृष्यहरू
सजिव-निर्जिव जगत
अमूल्य सम्पदा र स्रोतहरू
सबै-सबै ध्वस्त हुनेछन्
किनकि म आगो हुँ ।
*** *** *** *** ***
मलाई जति विनाशकारी ठान्छौ तिमीले
त्यति नै स्वतन्त्र र निष्पक्ष छु है म
धनी-गरीब
आफन्त-पराई
असल-खराब
सुन्दर-विद्रुप
गुणी-अवगुणी
निर्जिव-सजीव
निजी-सार्वजनिक
नाफा-घाटा
सुन्दर-कुरुप
मायालु-निर्मोही
नजिक-टाढा
अमूल्य-बहुमूल्य
प्राकृतिक-कृत्रिम
आदि आदिसँग
केही वास्ता छैन मलाई
जिस्किए-मस्किएपछि
निर्वाध मलाई छाडा छाडेपछि
मेरा प्रिय मित्रहरू इन्धन र अक्सिजनसँगको मृदु मिलनपछि
म त्यसै त्यसै पुलकित हुन्छु
रमाउँछु, उफ्रिन्छु र नाच्छु
अहा ! कति रमाइलो भनी दौडिन्छु
किनकि म आगो हुँ ।
*** *** *** *** ***
म आफै जल्दिन
मलाई जलाउने तिमी हौ
म पञ्चतत्वको एक शक्ति हुँ
पवनदेव त मेरा मित्र हुन्
मलाई प्रज्वलित हुन्
मैले मेरो शक्तिस्वरुप देखाउन
तिम्रै सहारा त लिने हो
जान-अन्जानमा मलाई तिम्रो
सहयोग र सहारा मिलेको छ
चाहे त्यो,
सानो सलाईको काँटी किन नहोस्
चाहे त्यो,
चुरोट र बिंडीको ठूटा किन नहोस्
जान-अन्जानमा मेरो अनुकुलताको खातिर
तिमीले गरेका तुच्छ र स्वार्थी कृत्यहरू किन नहुन
हावा र इन्धन मेरा सहयोगी मित्रहरूसँग जम्काभेट भयो भने
म आफै जल्न र अरुलाई जलाउन
प्राकृतिक वा मानव-सृजित स्रोतहरू राख बनाउन
गदगद रमाउँदै, दौडिंदै, उफ्रिंदै र नाच्दै
स्वच्छन्दढंगले सर्वत्र फैलिन
र, अग्नीदेवको साक्षातस्वरुप प्रकट गर्न
सदैव आतुर हुन्छु
किनकि म आगो हुँ ।
*** *** *** ***
म जल्दा मलाई नि पिडा हुन्छ
तर, अरुलाई जलाउनु मेरो धर्म हो
अरुको विनाशमा मेरो मन दुख्दैन
किनकि, म शक्तिशाली निर्जिव तत्व हुँ
यो विनाशकारी र अधर्मी पिडक किन भन्छौ मलाई
यो पिडाको मूल कारण त आखिर तिमी नै हौ
मेरो निष्क्रियता भङ्ग नगरेको भए
मेरा संयोजनकारी साथीहरूसँग जम्काभेट नगराइदिएको भए
म सानो हुँदै सम्हाल्न सकेको भए
म हिंड्ने बाटोमा अवरोध गरिदिएको भए
मेरो परम् शक्तिको सूक्ष्म आंकलन गरेको भए
शायद, मैले यो विराटस्वरुपको प्रदर्शन गर्नु पर्थेन होला
तर,
तिमीले नजरअन्दाज गर्‍यौ
समयमै सोचेनौ
जे गर्न सक्थ्यौ त्यो पनि गरेनौ
अब त धेरै ढिला भइसक्यो
अब त मेरो अग्नीचक्र चारै दिशामा घुमिसक्यो
म पूर्णरुपमा प्रज्वलित भइसकें
वृहत् र व्यापक भूआकृतिलाई उपनिवेश बनाइसकें
मलाई विनाशकारी नशा चढिसक्यो
म मातिसकें
मैले चाहेर पनि आफैले आफैलाई रोक्न सक्दिन म
चुपचाप स्थिर रहन सक्दिन म
तिम्रा लाखौं प्रयत्नहरू सार्थक नहुन सक्छन अब
मेरो विनाशको वेगमा ब्रेक लाग्न कठिन छ अब
यो मेरो प्राकृतिक स्वभाव हो
तिमीलाई थाहा हुनुपर्ने- म महापञ्चभूतको एक शक्तिशाली तत्व हुँ
तिमीले दुरुपयोग र अपमान गरे विनाशक शक्ति हुँ
र, तिमीले सम्मानपूर्वक सम्हाल्न सके तिम्रो अथक सेवक हुँ
किनकि,
म आगो हुँ ।

******
भैरहवा