बीसको दशकका शक्तिशाली कविको नाम हो – मदन रेग्मी । आधुनिक नेपाली कविताको इतिहासमा पृथक नाम हो उहाँ । चिन्तन र शैलीका दृष्टिकोणले उहाँको कविता निकै तिख्खर लाग्छन् ।
उहाँको मौलिक चेतनाले जो-कोहीलाई सोच्न वाध्य पार्छ ।आफूभित्रको बिद्रोही पात्र मार्फत कवितामा आगो ओकल्ने रेग्मीका कविताले सामाजिक दर्पणकाे काम गर्छन् । रेग्मीका कविता क्लिष्ट छन् । उहाँका हरेक कविताले विशेष पाठकको अपेक्षा राख्छन् ।
रेग्मीका हरेक कविताले अनुभूतिको तह भत्काउँछ । चेतनाको विर्को उघार्छन् र हृदयको धड्कन तीब्र बनाउँछन् । उनलेे निर्माण गरेको काव्यिकचेत वैश्विक हुन्छ । शब्द-शब्दको गहन अर्थ र दर्शनको फलक चौडा हुन्छ ।
छ दशक कविताको साधनामा रहे पनि रेग्मीले आफूलाई कहिल्यै ‘कवि’ भन्न रुचाउँनु भएन । राजनीतिक परिवारमा जन्मिए पनि राजनीतिबाट सधैंअलग्गै रहनुभयो ।
प्रस्तुत छ – मदन रेग्मीको वि.सं. २०३६ सालमा साझा प्रकाशनबाट प्रकाशित ‘मदन रेग्मीका कविता’मा छापिएको एक सानदार कविता-
खिइन देऊ मेरो मुटु धूवाँ उडाएर जङ्गलको माझबाट
• मदन रेग्मी
यदि मेरा नसामा नालहरू छन्
र मेरो हिँडाइमा भग्नावशेषका राप छन् भने
खिइन देऊ मेरो मुटु
शान्ति मुटु चुसेर ग्रीष्म धूलाहरूमा
तिमी मलाई नरोक, मिल्दैनन् भने आहारा हाम्रो
मेरो मुटुको मुहानलाई गँगटाको मुखसँग जोडेर
मिल्किन देऊ एक्लै-एक्लै; घाँस चर्ने होइनौँ हामी,
बरु खिइन देऊ मेरो मुटु ।
फुस्स धूवाँ उडाएर बैजनी मृत्यु एउटा जङ्गलको माझबाट
सिता टिप्न उफ्रेको मेरो दाँत र स्वाद जिब्रो
पराधीन भइसक्यो औँलाका मुखहरूमा
मरेर,, नोकर जन्म मेरा सिताहरूसँग
र स्वाद हराएर जीवन जिब्रोसँग
चिरिदेउ मलाई नीला डाम जमेका छन, आवाज तिमी बेहोर्न सक्तैनौ
टेबिलमा राख्नु पर्दैन
धूलामा उभ्याइदेउ मलाई यथेष्ट राखेर
तिम्रो प्रहार लम्बाइमा बत्याउन,,
रोकेर बस्छन् तालुकदार भने
हकवालालाई दिएर एउटा टाउको मानिसको
(कुल्चिनु पर्दैन पाङ्ग्राका मुन्दित, बोका साट्न पर्दैन मृत्युदण्डका निम्ति
पर राख वीर्यको खोटा आयात र निर्यातको क्रमलाई
बरफको चट्टान काम लाग्दैन
परालका त्यान्द्राहरू ओढाइदेऊ बरु
मेरो आङ्ले प्रलयको काँढा उमार्नुपहिले नै
सिरिन्ज घोप रगतका मुहानहरूमा
रापमा फिलिङ्गा चर्काएर फिँजाइदिन
अव्यवस्थित कीरे लावा भएकाहरूका माझ झुन्डेर सल्किन देऊ
सल्किन देऊ ।
प्रेम मेरो शिलापत्र छ, सुख मेरो छरिएका धूँवाका प्रारब्धपट्टि
प्रेम मेरो शिलापत्र छ फुस्स धूवाँमा झोल्लिएर
आकाङ्क्षा अस्ताएर नाला सुकेका विस्फोट फुटाएर नालका मुखहरू
झुलेर, मेरो घाटा लागिएको नायक हाँस्न साहस नगरोस्
साहस नगरोस् ।
मसानको मुख र दाँत कौवाहरूको
मध्यरातमा हराएको आकाश लाशहरूकोमा झुन्ड्याएर रेसा, रेसा
तिमी विज्ञानलाई नसोध (यो क्रम विडम्बना होइन)
फाँसी लगाइदिएर निद्रालाई
सत्य भाखा र मृत्यु टाँसिएका मेरा हत्केलाहरू
छोप्न सक्ने छैनन्
रोगी भरिया मोटरहरू छालालाई
विवश, ग्यास-च्याम्बर छैन अब, तर त्यसलाई तरेर पारि जान
तिम्रा राज्य विवश लडेका छन् खुट्टा र गिदी वारि नै उछिट्टिएका
अहा ! असम्भव छ तरेर जान ग्राह बने पनि
बरु खिइनदेऊ मेरो मुटु ।
यदि मेरो मुटु ढुङ्गा एउटा बगरको छोरमा
अलपत्र र पानीका अलपत्रे नाचहरूमा
यदि मेरो श्वास कम्पित भइरहन्छ भने पनि
अव्यवस्थित जराहरूले इच्छा मारेका
विफल पार्न सक्नेछैनन्, तन्त्रका महल र आइमाईका तिघ्राहरूले
सुताइदिएर खुलेको गर्भ र गर्भ जलाशय
मेरो माझ सुकुमारी दृष्य र माला
रोक्न सक्ने छैन सल्किन फोस्फोरसको छाती र त्यसको बीच आगलागी
अब घाटे वैद्य बोलाएर एक किनारबाट झम्ट
नदी पोखिदिएर आम्खोराबाट मास्तिर पोख
तर निभ्न सक्दैन यस जङ्गलको माझ मुटु !
सगुनका टीकाहरूले विटुलो पार्न सक्दैनन्
यस खिइँदो मुटुलाई धूवाँको माझबाट !
***
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।