अशेष मल्ल वि.सं. २०११ चैत्र २१ गते तल्लोकोप्चे, धनकुटामा पिता खगेन्द्र प्रधानाङ्ग र माता नारायणदेवी प्रधानाङ्गको कोखमा जन्म लिनुभएको हो ।

नेपाली आधुनिक कविता र नाट्य क्षेत्रमा विशिष्ट व्यक्तित्व निर्माण गर्नु भएको मल्ल लोकतान्त्रिक मुल्य-मान्यतामा सधैं दृढ़ देखिनुहुन्छ ।
नाट्यक्षेत्रको यशस्वी नाम अशेष मल्ल ‘सर्वनाम’का संस्थापक र नेपाली नाटकका पर्यायवाची नाम हो ।
उहाँका कविता र नाटकमा उज्यालोको चाहना र परिवर्तनको संकेतहरू प्रसस्त देखिन्छन् । भुइँ मानिसहरूको पक्षधरतामा चट्टान झैँ उभिने अशेष मल्लका – कवितामा मानवीय संकट र वैश्विक चिन्तनको आलोक देख्न सकिन्छ । उहाँले साहित्यमा पुर्‍याउनु भएको योगदान र समर्पण नेपाली साहित्यानुरागीहरूका लागि प्रेरणाको स्रोत हो ।
अशेष मल्ल – नेपाली साहित्यको आदर्श नाम हो ।

प्रस्तुत छ – प्रसिद्ध कवि भूपि शेरचनद्वारा सम्पादित, नेपाल प्रज्ञा-प्रतिष्ठानको ‘कविता’ पत्रिकामा २०३६ सालमा प्रकाशित कविता – ”राजधानीबाट फर्के-फर्केनन् उनीहरू ?”
यो कवितामा प्रतीकात्मक भाव मार्फत कालजयी दृष्टिकोण उजागर भएको देखिन्छ ।

राजधानीबाट फर्के-फर्केनन् उनीहरू

• अशेष मल्ल

अशेष मल्ल

चिउरा चपाउँदै बुढा आस्थाहरू
राजधानीमा मेला भर्न आएका थिए
फर्के-फर्केनन् उनीहरू

पशुपतिका नाङ्गा पाखाबाट
शीत ओच्छ्याएर सुतेका कलिला बिहानबाट
वा कतै मन्दिरको पेटीमा
भगवान जप्तै निदाइरहेछन्
कि कतै व्यस्त सडकमा आँखा खोज्दै हिँडिरहेछन्
यो राजधानीको मामुली खबर
अखबारको टाउको भएर अट्दैन
सडकमा लौरो हराएको भए
काम्दै हातहरूले शून्यता छाम्नु पर्छ
कुनै कोट टोपीले जेब्राक्रसबाट तार्न सक्दैन
उनिहरू जो देश खोज्दै राजधानी आइरहेछन्
उनिहरू जो नेपाल बोल्दै राजधानी भित्रिरहेछन्
उन्मुक्त भएर सडकतिर दगुर्न लागेका होलान्
त्यो बन्देज जस्तै खुला हाताभित्र
त्यो त उहिल्यै लिलाम भइसकेको छ
उनिहरूको नामबाट

पहाडका नाङ्गा फाँटहरू हैनन् तिनीहरू
मधेसका निशुल्क धुलाहरू हैनन् तिनीहरू
यो राजधानी त अखबारको हेड लाइन हो
जो जता ततै बिक्री हुने गर्छ
जस्को बिक्रीमा कतिपय आँखा बाँच्ने गर्छ
मेला भर्न आएका बुढा बाहरूलाई
थाहा छ – छैन यहाँका उदार कथाहरू
वा पुराण सुनेर स्वस्थानी महलको कल्पनामा
भित्रेका छन् उनीहरू
मलाई एउटै शङ्का छ – घर फर्के-फर्केनन् तिनीहरू

थोते मुखभरि च्युरा कोचेर आस्था कति बटुले
पर्खिरहेका होलान् आँगनको डिलहरूमा स-साना नानीहरू
पर्साद र मीठा कथाहरू ल्याउलान् बुढा बाहरूले भनेर
थाहा छैन पोल्टामा कति पर्साद राखे
वा कति फाँको चिउरा बाँकी होला अब झोलामा
फर्के-नफर्केको मामुली खबर पनि कसैलाई थाहा छैन
कहाँ होलान् उनीहरू ?
गन्धहरू पनि अब यता कतै बाँकी छैन ।

***