वि.सं. २०१३ मङ्सिर २४ गते काठमाडौँको फर्पिङमा जन्मनु भएका किशोरमान श्रेष्ठ नेपाली साहित्यमा किशोर पहाडीका नामले सुपरिचित हुनुहुन्छ । पिता गोविन्दमान श्रेष्ठ र माता मीरा श्रेष्ठका सु-पुत्र पहाडीको पहिलो रचना, वि.सं. २०३३ सालको रूपरेखा पत्रिकामा ‘माध्यम र माध्यम’ शीर्षकको एकाङ्की प्रकाशित भएको थियोे । नेपाली साहित्यको बहु-विधामा कलम चलाउने प्रखर कवि / कथाकार किशोर पहाडी – कविता कथा र रङ्गमञ्चका त्रिवेणी हुनुहुन्छ ।
नेपाली कवितातामा उल्लेख योगदान रहेका पहाडीको साहित्यिक उपासनाको इतिहास निकै लामो छ ।
उहाँका कवितामा समाजका अनेकौं आयामहरू उद्गघाटित छन् । पहाडीय कवितामा कालिक चिन्तन, गहिरो आत्मानुभूति र हृदय-संवेद्य विषय समाविष्ट हुन्छन् ।
प्रस्तुत छ – नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित कविता पत्रिकामा ३९ वर्षअघि प्रकाशित किशोर पहाडीको शक्तिशाली ‘विश्राम’ कविता –
विश्राम
किशोर पहाडी

किशोर पहाडी
मनहरूको समुद्रबाट
मोति चोर्नको निम्ति म आएको होइन
तिम्रो शरीरको बगैंचाबाट
फूल टिप्नकाे निम्ति म आएको होइन
वर्षा त बर्सिरहेकै छ
म बाँझो जमीन –
आफू भिजूँ भनेर आएको होईन
अब भो, मलाई नबिथोल तिमी !
सबैतिरबाट थाकेर
म यहाँ विश्राम लिन आएको छु
सबैतिरबाट थाकेर
म यहाँ विश्राम लिन आएको छु
यो विश्राममा मलाई
कुनै दु:ख-सुखको कथा भन्न कर नगर
यो विश्राममा मलाई
कुनै प्रेमको गीत गाउन कर नगर
यो विश्राममा मलाई
अहँ, आशा-निराशाको कविता सुनाउन कर नगर
यो विश्राममा म अहिले-
आफ्नो मस्तिष्कबाट धेरै टाढा पुगेको छु
न खलबल्याउनू मलाई –
म आफ्ना आँखाहरू थुनेर बसिरहेको छु
यदाकदा तिम्रो पैतालाको छासछुस आवाजले
आतंकित गर्ला मलाई
यदाकदा तिम्रो सुस्केराको सासले
ढलमल गराउला मलाई
— अलिक पर जाऊ ।
मबाट टाढा जाऊ ।
म अहिले यहाँ आतंकित भई
ढलमल हुन आएको होइन
म त फगत केही छिन विश्राम लिन आएको छु
सबैतिरबाट थाकेर विश्राम लिन आएको छु ।
सबैतिरबाट थाकेर
म यहाँ विश्राम लिन आएको छु
बाटाहरू हिंडाउन नआउनू – म हिंड्दिनँ
दृश्यहरू देखाउन नआउनू – म हेर्दिनँ
शब्दहरू सुनाउन नआउनू – म सुन्दिनँ
म त अहिले सपनाहरूबाट पनि टाढा पुगेको छु
प्वाँखहरू सिउरेर मस्तिष्कमा
म धरती र आकाशभन्दा बाहिर उडेको छु
समयको पहाडमा झण्डा गाडेर
नोर्गे हुन म आएको होइन
यो कुरूक्षेत्रको मैदानमा सारथि बनेर
गीता सुनाउन आएको पनि होइन
वर्षा त बर्सिरहेकै छ
म बाँझो जमीन —
आफू भिजूँ भनेर आएको होइन
अब भो, खुकुरी हातमा दिएर
आफ्नो इच्छाहरू छप्काउन नलगाउनू
म सबैकुरादेखि थाकेर
आज यहाँ
विश्राम लिन आएको छु ।
***






यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ कार्तिक २०८२, शुक्रबार 










