• उषा शेरचन – नेपाली आधुनिक कविताकी एक शक्तिशाली नारीरत्न । जीवन र जगतलाई सूक्ष्म रूपमा अभिव्यक्त गर्न सक्ने प्रयोगशील कवि । वैश्विक काव्यचेत रहेकी र स्नेहनिधि व्यक्तित्व । मानवीय अव्यक्त उकुस-मुकुसहरूलाई प्राञ्जल भाषामा अभिव्यक्त गर्नसक्ने सम्यक् शब्दशिल्पी ।

प्रस्तुत छ – आजभन्दा ४४ वर्षअघि नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित ‘कविता’ पत्रिकामा सुश्री उषा भट्टचनको नाममा प्रकाशित एक शक्तिशाली कविता ।

 

महत्त्वाकांक्षा : निरन्तर रित्तिंदैछ, बूढो सारङ्गी जस्तै

 

सुश्री उषा भट्टचन

उषा शेरचन

लाग्छ, अब त मेरो महत्त्वाकांक्षा
पहाडका अग्ला अग्ला टाकुरामा
हिउँका ढिक्का भएर जमिरहेछ
जो, समयको तापसँगै
– निरन्तर पग्लँदै गइरहेछ
जो समयको चापसँगै
– निरन्तर थेप्चिँदै गइरहेछ
जो समयको धारसँगै
– निरन्तर खिइँदै गइरहेछ

कति दुर्बल भैसकेछु – कलिलो उमेरमै
कति चिसो भैसकेछु – कलिलो बैंशमै

जिउँदो स्पर्शले मात्र पनि पोल्न थाल्छ
– भट्टिमा रापिएको कोइलाले जस्तै
न्यानो अंगालोले मात्र पनि डाम्न थाल्छ
– आरनबाट झिकेको फलामले जस्तै

मेरो महत्त्वाकांक्षाको हाँगाहरूमा
– निस्क्रियता कोपिलाउँदै छ
मेरो महत्त्वाकांक्षाको चउरहरूमा
– दुर्बलता मौलाउँदै छ

विश्वास लाग्न छोडिसक्यो
– नूतन जीवनहरूमा पनि ;
इच्छा लाग्न छोडिसक्याे
– नूतन प्रयोगहरूमा पनि;

महत्त्वाकांक्षा : सिकन्दरको मुस्कानमा अल्झिएर
महत्त्वाकांक्षा : नादिरशाहाको आँखामा बलेर
महत्त्वाकांक्षा : कोतको रगतमा बगेर
महत्त्वाकांक्षा : मेवाडकाे चितामा जलेर
महत्त्वाकांक्षा : कुरूक्षेत्रमा गन्हाएर
महत्त्वाकांक्षा : हिरोसिमा र नागासाकीमा डढेर

– म भित्रका आकांक्षाका भण्डारहरू
– म भित्रका आत्मबलका पहाडहरू
– म भित्रका जीउँदा अवशेषहरू
निरन्तर रित्तिदै छ बूढो सारंगी जस्तै
निरन्तर खोक्रिँदै छ बूढो सारंगी जस्तै
निरन्तर क्षीण हुँदै छ बूढो सारंगी जस्तै

***
नोट : यो कविता २०३६ सालमा सुश्री उषा भट्टचनको नाममा ‘कविता’ पत्रिकामा छापिएको छ ।