अब खोज्दा भेट्टाउँदिन यो जगतमा दुवै
भग्वान् बनाइदेऊ न अरु कुनै उस्तै
तिम्रै माया तिम्रै छाया न्यानो काख सम्झी
नयनबाट पानी बग्छन् सागर भयो कम्ती

सपनीमा बोल्दैनौ हेर्छौ टुलु टुलु
स्मृतिमा बस्यौ दुवै मनले केरी भुलुँ
आत्मा उड्यो शरीर भस्म के पो बने होला ?
बाआमाकै बोली लाग्छ सुसेल्दामा खोला

घर शून्य कोठा रित्तो फलैँचा भो खाली
पाठा पिँढी चियाउँछन् उधिनेर जाली
सानै उमेर थियो छाड्दा बाआमा र घर
सँगै बस्ने रहर छँदै दुवै गयौ पर

भुल्न किन यति गाह्रो प्रकृतिको रीत
बाआमाको माया जस्तो पाइनँ अरुसित
मेरा लागि गरेयौ सबै आफ्ना धर्मकर्म
मैले बुझ्न भ्याइन मनका बाआमाका मर्म

अर्को जुनी कसलाई थाह छ के पो हुन्छ कुन्नि
के रुप लिए बाआमाले जान्न पाए पुग्नी
हे बादलु हटी दे न क्षितिज पारि हेर्छु
चम्म चम्म गर्ने ताराबिच बाआमाकै रुप खोज्छु !

तारकेश्वर‑ ७ संगमफाँट, काठमाडौँ