
म काम गर्छु
ऊ मलाई हेरिरहन्छ ।
अगाडिबाट आँखा तरेर हेर्छ ।
पछाडिबाट चियो गरेर हेर्छ ।
छड्केबाट आँखा छड्के नै बनाएर हेर्छ ।
तलदेखि हेर्छ । माथिदेखि हेर्छ ।
उसको कामै हेर्नु हो । हेरिरहन्छ ।
एकाग्र भएर हेरिरहँदा ऊ गम्भीर बन्छ ।
बेला बेला निधार खुम्च्याउँछ ।
त्यति बेला उसले
दुवै हात छातिमा लगेर बाँधेको हुन्छ ।
हरे ! उसको कामै हात बाँध्नु हो ।
हाम्रो जस्तै,
उसको पनि एक थान मुख छ । कहिलेकाहिँ बहस गर्छ ।
मजदुरका पक्षमा चर्केर कुरा गर्छ ।
ठूलाठूला भाषण गर्छ ।
लामालामा लेख लेख्छ । सेमिनार धाउँछ । गाष्ठीमा पुग्छ ।
(त्यसबापत पैसा लिन्छ)
मजदुर दिवसमा र्यालीको नेतृत्व गर्छ । र फेरि भाषणै गर्छ ।
ऊ धेरै काम मुखैले गर्छ । मुखले मात्र ।
ऊ कुरा सुन्छ । सबैका कुरा सुन्छ ।
ऊ कुरा काट्छ । सबैका कुरा काट्छ ।
अरुका खोट खोज्छ र सबैलाई बोलाएर सुनाउँछ ।
मालिकलाई सुनाउँछ । मेरा कामदार साथीलाई सुनाउँछ ।
बेस्सरी रिसाउँछ । आलोचना गर्छ ।
उसको काम नै आलोचना गर्नु हो । आलोचनाको सागर बोकेर हिँड्छ ।
ऊ देश डुल्छ । विदेश डुल्छ ।
व्यापारीका रक्सी खान्छ ।
सरकारसँग मित्रता गर्छ ।
ठेकेदारका उपहार लिन्छ ।
ऊ जोसुकैको पनि हुनसक्छ ।
म दुःख पोख्छु । ऊ त्यसैमा दलाली गर्छ ।
म असन्तोष पोख्छु । ऊ त्यसैमा राजनीति गर्छ ।
म खुशी पोख्छु । ऊ त्यसैलाई हतियार बनाउँछ ।
म काम गरिरहन्छु । ऊ मान खोजिबस्छ ।
पुजीवादीहरुका लागि ऊ कम्युनिष्ट हो ।
कम्युनिष्टकै लागि भने ऊ अरु नै केही हो ।
स्वयम् कार्ल मार्क्सले पनि नबुझेको
खास कुरो त
ऊ मालिक र मजदुर दुवै होइन ।
(त्यही बीचमा रहेर दलाली गर्छ ।)
ऊ हाकिम हो र जागिर गर्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

