१.
अक्सर मैले कविता नलेखेर के भो ?
मेरो कविताको कथा
अखबारी समाचार बन्न सकेन
तक्माको दाबेदार हुन सकेन
म नाङ्गिएर नाचेको भए
म बाङ्गिएर हिँडेको भए
अक्सर मेरो कविता
समाचार बन्न सक्थ्यो
अक्सर मेरो कविता
तक्माको दाबेदार हुन सक्थ्यो
विचरो मेरो कविता ∕
धितोपत्रको म्याद गुज्रेसरी
लिलाममा दरपिट भइसकेको
चुक्त्याउनै नसकिने
साक्षी किनाराका सदर
मेरै कविताको शरीरमाथि
रोहवरका नक्कली औंठाछापहरू थिचाई
गद्धारहरू तक्मा भिर्छन्
मेरो कविता
सुहागरातमै मर्छ ।
२.
अक्सर स्तब्धित छन् कविहरू ∕
आफ्नै कविता
मृत्युसूचीमा सूचिङ्कित देखेर
कविताको बली खान पल्किएका
दुष्टहरूको आकृति देखेर
अजम्बरी मेरो कविता ∕
हातमा दागबत्तीको चिराग उठाएर
मृत्युशैय्याको भग्नावशेष नजिकै
ठिङ्ग उभ्भिएको छ
मृत्युसूचिहरू, च्यात्तै, च्यात्तै ।
३.
अक्सर मानिसहरुको मृत्यु भई नै रहेको छ
त्यो शोक बनेर आएको छैन
निःशब्द
छलिकट्टे समय
च्वाप्, च्वाप्
रगतको म्वाइ खाएर
मासुको चोक्टा लुछिरहेको छ
मेरो कविता
निस्लोट ज्वरोसँगै थलिएर
अनौपचारिक समयको
नमिठो पीडाभित्र
थाङ्ने पल्टिएर
लहरेखोकीजस्तो
एकोहोरो खोकिरहेको छ
ख्वाङ्, ख्वाङ् ।
४.
अक्सर कवितामा क्रान्तिका कुराहरू हुनुपर्ने
श्वेत/अश्वेत बीचका भासहरू
र लैङ्गीक असमानताका कुराहरू उठाइनुपर्ने
कुन्नि कसरी उठाइँदैछन् कलमहरू ∕
कुन्नि कसरी लेखिँदैछन् कविताहरू ∕∕
कविताका लेकबेंसीहरू ∕
कविताका कथाहरू ∕∕
सुन्दरहरैंचा—६, दुलारी, मोरङ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।