पुरुष तिमी निर्दयी बन्दछौ किन
सक्तिन नारी कहिल्यै समेटिन
नारी पराइघरमा गएर
गर्छिन् चुलो र चौको नम्र बहुत भएर
सासू र नन्द आमाजूहरूको पनि धोई पाउ
गर्छिन् सधैँ पुरुषको पनि मान भाउ
खाई पिई सबै सुत्छन् मस्तसाथ
धन्दा सकी पाउ मोलिन् भयो आधा रात
कोठा बिषे तिनी पसिन् अब सुस्तसाथ
निद्रा पुग्न नपाउँदै बितिजान्छ रात
आधारात भयो कि ढिकी र जाँतोमा
उज्यालो भो दिनहुँ पुग्नुछ मेलामा
कुचो र दैलो गरी चोक सबै बढारी
भान्सामा हुनुपर्ने ऊ सधैँ तयारी
खाने बेला जब भयो कर्कर धेर गर्ने
यो अलच्छिनी भनी सब नेत्र तर्ने
काम चर्को पर्छ जब सम्झिलिने बुहारी
मिठो चोखो बनियो दिन्छन् छोरी पुकारी
आमा र बैनी दिदीका ती कुरा सुनेर
बस्छन् पुरुष पनि कान दुवै थुनेर
हेरौँ नगरबासीहरूको अब रासलीला
नारी पुरुष हक बराबरी छन् रसिला
ग्रामीण निवासीहरूमा यही पर्छ मर्म
नारीमाथि पुरुषहरू गर्छन् दुष्कर्म
बाचा गरे विवाहमा खुब प्रेम गर्ने
यिनलाई पर्छ जति कष्ट म हर्ने
राख्छु म साथ जीवनभर नछुटाई साथ
भन्दै सिन्दुर छरिदियौ मिलाई हात
अहिले भयौ तिमी दाइजो धेर खोज्ने
भन्छन् सधैँ अवसर पाइनँ जीवनसाथी रोज्ने
धक्का दिन्छौ किन हो अब नारीलाई
रुन्छिन् धुरुधुरु सधैँ मन त्यो दुखाई
खाएर जाँड र रक्सी निर्धक्क साथ
कोमल ती नारीकन मार्दछ धेर लात
आदर्श नारी अब बन्नु कसरी तिनले
चल्दैन काम अब कुटपिटको अधिनले
जुवा र तासहरूमा त पुरुष जुट्यो
बाँच्नु ती नारीहरूका अब आश टुट्यो
नाक कान ती नारीहरूका सब लुछलाछ
पारेर आफैँ लगाउछ धेर धाक
यस्तो भएपछि कसरी विकास हुन्छ
यी नारीको दुःख पुकार अब कसले सुन्छ
छोरी पढेर अब के छ काम खास
भन्ने ती बात अझै मिल्दछ धेर रास
खन्नु कोदालो दिन दिन छ बोक्नु भारी
बन्नु कसरी तिनले आदर्श नारी
देख्नु सुन्नु छैन केही सब अन्धकार
कसलाई हाय म बिसाउँ सुखदुःख भार
शिक्षाविहीन अबला भई नारी एक
बाँच्नु कसरी प्रभु राख्नुहोस् विवेक
आत्मा चिनेर नारीको जब प्रेम गर्छौ
आफ्नो पनि भविष्यको दुःख भार हर्छौ
जान्दैन नारीहरूका पुरुष मर्म खास
मिल्नेछ दुःख उसमा पनि भारी रास
आफैँ चराचर थिए शिव ती गतिमा
त्यो मोहमा किन फसे अब ती सतिमा
राधा र कृष्ण बिचको पनि प्रेम कस्तो
सीता र राम बिचमा पनि झन् छ उस्तो
पत्नी भएर सब प्रेममा बहन्छिन्
आमा भएर पीर कष्ट सबै सहन्छिन्
धरती भएर सब भारहरू सहन्छिन्
सागर भएर पहाड तटमा बहन्छिन्
कोमल छ नारीहरूको हृदयारबिन्द
निष्ठुर पुरुषहरू बदल्छन् अनेक छन्द
धोका दिने छिनछिनै विचरीहरूमा
दोषी गराइकन् छाड्छन् प्रेमहरूमा ।

सुन्दरहरैंचा—६,
दुलारी, मोरङ, कोशी प्रदेश