जब म देख्छु आर्यघाटमा
जलिरहेको शव
छेउमा शोकाकुल आफन्तजन
र, मृतकका ती आफन्तबाट
प्राप्त हुनसक्ने लाभ–हानिको जोड, घटाउ गरेर
जम्मा भएका मलामीहरू
जो चढाएर पीडाको नक्कली मकुण्डो अनुहारमा
प्रकट गरिरहेका हुन्छन् बनावटी समवेदना
र, बाँडिएर समूह–समूहमा
गर्छन पटक पटक चिताको शव र
आफ्नो नाडीको घडी हेर्दै मसिनो स्वरमा चर्चा–
देश र विश्व राजनीतिको
असफल सरकार र अस्थिर सेयर मार्केटको
सहरको कुनै चर्चित डान्स रेस्टुरेन्ट र
भर्खरै प्रदर्शन भएको बलिउड सिनेमाको
म सम्झन्छु हरेक साँझ सुन्धारा क्षेत्रका
भट्टी र रेस्टुराँहरूमा जम्मा हुने
अरुकै काम बोकेर
अरुकै प्रायोजनमा
सिंहदरबार र नेताका दरबार दरबार परिक्रमा गर्न
राजधानी आएका
राजनैतिक दलका
जिल्ला वा प्रदेशस्तरका दलाल नेता
अनियमित आर्जनका
केही हजार र लाख बोकेर
अझ आकर्षक कार्यालयमा
सरुवा, बढुवा र पदस्थापना गराउन
जम्मा भएका भ्रष्ट कर्मचारी
अनि सरकारी, गैर सरकारी
ठेक्का हत्याउने तानाबाना बुन्दै
राजधानीमा धर्ना दिने व्यवसायीका जमघट
र दिनभरको सफल, असफल दौडधुपपछि
स्वदेशी, विदेशी रक्सीको नसामा
तिनीहरूले गर्ने दिनभरको समीक्षा
व्यक्त गर्ने निराशा, कुण्ठा वा सन्तुष्टि
र, तिनीहरूले तयार गर्ने
षडयन्त्र र जालझेलका थप योजना

उस्तै उस्तै लाग्छन् मलाई
आर्यघाटका मलामी र
सुन्धाराका भट्टी पसलमा जम्मा हुने दलालहरू ।