थोपा थोपा मिलेर
जब आयो जिन्दगी यो
अनेकौं क्रिडा दिएर बाबालाई
प्रसव पीडा दिएर आमालाई
खुशी र हाँसो दिएर परिवारलाई
बालापन आयो
पढायो, लेखायो र बाटो देखायो
अनि ओझेल पर्यो बाल्यकाल
र गयो थोरबहुत जिन्दगी
किशोर भएपछि
जिम्मेवारी आए
सङ्गसङ्गै आए सपनाहरू
जागिरको खोजी एकातिर
प्रियाको खोजी अर्कोतिर
समस्याको चाङले थिचिदा
आफ्नो मनले आफैँ मिचिदा
के गर्नु
के नगर्नु अन्योल अन्योल हुँदा
न त चैन थियो
केवल मैन थियो जिन्दगी
जलिरह्यो, गलिरह्यो
तैपनि सबथोक छ लाग्थ्यो
ज्ञानको भोक छ लाग्थ्यो
सम्हालिएर हिँड्दै र भिड्दै जाँदा
हन्डर खाँदा खाँदा
टाढा भयो उर्वर जिन्दगी
समयचक्रले
वक्ररेखामा हिँड्ने जिन्दगीमा
सानो सफलता पाउँदा
आफ्नो एक मनले रमाउँदा
आफैँसित मिसिन आएको अर्को मन
टाढा पुगिसकेको पत्तो नपाउने
यो धर्तीको एउटा महामुर्ख भएकोमा
आफैँलाई शून्यमा थन्क्याएर
बाँचेको छु अचेल
दोष समयको हो कि समस्याको
चिन्ता वर्तमानको कि भविष्यको
तिमीले दिएका उपहारलाई
नओइलिन दिन
तिम्रो प्रतीक्षा होइन
आफ्नो प्रतिज्ञालाई अघि सारेर
आफ्नो कर्ममा दृढतापूर्वक
लागेको छु
तिमीले लिएको आधा जिन्दगी सम्झेर
तिमीले दिएको आधा जिन्दगी बाँचेर ।
*****
सिगास -२, बैतडी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 










