आँखामा
सपनाहरूको हाट त छ
तर
शीलको शिखर
आरोहण गर्न सकेको छुइनँ
समाधिको सप्तद्वार
चियाउन सकेको छुइनँ
सौम्यताको अखेटो
उक्लिन सकेको छुइनँ
ऐठँन गरिरहेछ
हरघडी मलाई
विद्रुप समयका बाधपञ्जाले
मुक्त हुन यसबाट
कोसिस चलिरहेछ भरमग्दूर
दूषित हावहवाले
थुन्न खोजिरहेछ स्वासनली
सङ्गति गुमाएर
विसङ्गत बनेको समयसित
मुकाविला चलिरहेछ मेरो
नायकत्व गुमाएका नालायकहरूसित
छु त स्पर्धामै छु म