प्रिय तिमी मौनी होइन, कवि बनिदेऊ
मौनतामा होइन तिमी क़वितामा संवाद गरिदेऊ
तिम्रा भावनाहरूलाई अक्षर बनाई पोखिदेऊ
मनका तस्बिरलाई मूर्त रुप गरिदेऊ

म तिम्रा तिनै शब्दका गुच्छाहरूमा
तिम्रा भावनाहरूलाई खोजी रमाउनेछु
तिम्रा तिनै मनोभावनाहरूमा म आफूलाई खोज्ने छु
ती शब्द शब्दहरूमा म डुबुल्की मार्ने छु र
आफ्ना भावनाहरूलाई तृप्त पार्नेछु

समयको माग भए ति कवितामा सङ्गीत भरिन सक्दछन्
र सुरिलो स्वरमा गुन्जायमान हुन सक्दछन्
लाखौँका पीडालाई शीतलता दिने मानसिक
मलम बन्न सक्दछन्
अनि लाखौँका भावना बनी गुनगुनिन सक्दछन्
कयौँका एकान्तका परम मित्र बन्न सक्दछन्
त्यसैले प्रिय तिमी मौनी होइन, कवि बनिदेऊ

प्रिय तिमी कवि बनिदेऊ अनि
यो कुरा तिमी मनन गरिदेऊ :
कविता गीतको मुहान हो
शब्दहरू गीतका आत्मा हुन्
सङ्गीत गीतको स्वास हो
र स्वर गीतको शरीर हो
शरीर नासवान् छ, यो फेरिन सक्छ
तर आत्माजस्तै शब्दहरू न त कहिल्यै मर्छन्
न त कहिल्यै हराई बिलाउँछन्
यी कालजयी भएर जुगौंजुग मानवीय
भावनाको प्रतिनिधित्व गर्छन्
गीतले धेरै शरीरहरू फेर्न सक्छन्
र शब्दहरु कालजयी भएर जुगौं जुग
मानव भावनाको प्रतिनिधि बनी
मानव मनको सेवा गरिरहन सक्छन्

त्यसैले प्रिय तिमी मौनी होइन, कवि बनिदेऊ
मनका तस्बिरलाई मूर्त रुप गरिदेऊ
मौनतामा होइन तिमी, क़वितामा संवाद गरिदेऊ
म तिम्रो मनको तस्बिर हेरी मनमनै रमाउँला
तिम्रो भावनामा चुर्लुम्म डुबी दिव्य प्रेममा हराउँला
दिव्य प्रेमको महासागरमा आफैँले आफैँलाई खोजौँला
सायद एक दिन आफैँले आफैँलाई भेटौँला चिनौँला र
अलौकिक दिव्य आनन्दमा डुबुल्की मार्दै
अनन्तसम्म रमाउँला

प्रिय प्रिया तिमीलाई
शुभ समयको शुभकामना ।