कत्ति राम्रो हेर साथी ! रम्भा मेरो गाउँ
संसारकै प्यारो लाग्ने मेरो आफ्नै ठाउँ
जन्मिएको धर्ती मेरो हुर्किएको माटो यो
बालापन कयौं पुस्ता भविष्यको बाटो हो

हरियाली छाएको छ रिमिघाको काखमा
ऐतिहासिक सम्पदा छ रम्भादेवी साथमा
स्वच्छ सुन्दर वातावरण हरियाली राम्रो
हरा भरा रिमिघा छ उच्च शीर हाम्रो

पर्यटन, गन्तव्यको केन्द्र बनाउनु छ
आय आर्जन बढाएर समुन्नत हुन्छ
आस्था अनि विश्वासका दीयोहरू बलून्
अहा ! कत्ति राम्रो गाउँ चर्चाहरु चलून्

जाति, धर्म, भाषा, भाषी एकजुट बनौं
सबै मिली विकासको मूलबाटो खनौं
शिक्षा, स्वास्थ्य, खानेपानी सबै पूर्वाधार
बाटोघाटो, बिजुली र सञ्चारको आधार

समुन्नत यो बनाउन सबै जुट्नु पर्छ
समृद्ध यो पार्न गाउँ सबै उठ्नु पर्छ
अन्याय र अत्याचार मुक्त पारौं गाउँलाई
उन्नत रम्भा गाउँ सुम्पिउँ भावि सन्ततिलाई ।