[ १ ]
त्यो बेला म
सिमेन्टको बोरामा अडेस लगाएर बसेको हुनेछु
जुन बेला म
एक खिल्ली चुरोटलाई धुवाँ बनाइरहेको हुनेछु
मेरा मालिक
त्यस बखत म (मजदुर)सँग समय नमाग्नू
किनकि
मजदुरहरूले समयको दुई गुणा श्रम दिई सकेका हुनेछन् ।

[ २ ]
तब –
म मेघ बनेर बर्सिने छु
जब –
तिमी आगो बनेर दन्किने छौ
अनि, हामी एउटा सुन्दर राज्य सृजना गर्नेछौँ
र,प्रवेशद्वारमा लेख्ने छौँ –
– जनवाद जिन्दावाद, धनवाद मुर्दावाद
[ ३ ]
बाआमाले देशपरिवेश नबुझेर दु:ख पाए
छोराछोरीले देशपरिवेश बुझेर दु:ख पाए
देशपरिवेश नबुझेका बाआमा –
गाउँमा छोराछोरी आउने बाटो हेरेर बसेका छन्
देशपरिवेश बुझेका छोराछोरी –
सहरमा प्रवेशाज्ञा पत्र कुरेर बसेका छन् ।

[ ४]
आजदेखि मलाई
मेरा मालिकसँग बोल्न साह्रै डर लागिरहेको छ
किनकि –
उहाँले आफूलाई नयाँ ईश्वर भनेर घोषणा गर्नु भएको छ।

आदर्श -०३, डोटी