युवा वय हुँकार्छ

सबथोक म नै गर्न सक्छु

ढुङ्गा चपाउने मात्रै हैन

खाएर पचाउन

नखाएर कछुवा उमेर बाँच्न

पुतलीका झैँ आँखा फैलाउन

 

फ्रग हुपर झैँ माथिमाथि उफ्रिन

चितुवा झैँ दगुर्न

कालो मार्लिन माछा झैँ पौडिन

दुनियाँ भड्काउन, छड्काउन

दुनियाँलाई मर्काउन, थर्काउन

 

ओशोले झैँ लाखौँ पुस्तक पढ्न

रोनाल्डोले झैँ हजारौँ गोल गर्न

चिल झैँ अनन्तमा फन्को मार्न

अगेरा कारलाई पनि उछिन्न

 

जेजति छन् कठिन

काम संसारका

सबै सबै गरेर

गिनिज बुकमा नाम लेखाउन

सरस्वती र लक्ष्मी पेवा बनाई

भीम र कृष्ण शरीरमा धरी

सबै चीज मुठीमा खिच्न

काललाई पराजित गर्दै

अमर हुन

ऊ बिर्सन्छ

युवा वय नै हो

एक दिन वृद्ध हुने

तोतेबोली नै हो गनगन हुने

स्फूर्ति नै हो कठ्याङ्ग्रिने

स्याउ झैँ गाला मरिच हुने

सुरिला रूखहरू कुप्रिने

बास्नादार बोटहरूले फेदैमा

दुर्गन्ध फैलाउने

मनैका चलचित्र हेरेर विगतका

छिनमै रमाउने छिनमै दर्द चुहाउने

सरस्वती र लक्ष्मीले साथ छाड्ने

ऊ बिर्सन्छ सबसब

अनि भन्छ वृद्ध पिताजीलाई

अझै पुगेन के

गर्नुपर्यो के

के छ नपुग

किचकिच किन बुढाका

कति जानेका चाट्न दिमाग

उसका नजरमा वृद्ध

कहाँ हुन सक्छन् युवाका जन्मदाता

ती त अर्कै धर्तीका प्राणी

जन्मदै वृद्ध जन्मिएका

सधैँ निरीह, बसाहा, किचकिचे
तर

झल्याँस्स ब्युँझे झैँ

निद्राबाट उठ्छ युवा

छामेर वृद्ध वय

सुस्केरालाई पेवा बनाउँदै

द्विविधाको ढाल ओढेर

विपना सपना हो या

सपना विपना

सिरानीका चिसोपनमा छाम्दै

शिथिलता ओकल्छ मस्तिष्कमा

चटपटाउन, पचाउन

थर्काउन, मर्काउन

अब

कहाँ सकिँदो रहेछ र

खुइय खुइ काढेपछि

समयको चपेटामा

च्यापिएको उमेर

घिडघिडाउँछ घमण्डमा

विबोधनको बुई चढेर

केवल

विबोधनमा पुगेपछि ।