न कसैले जन्मायो न त हुर्कायो
प्रकृतिको वरदान भनूँ
या स्वअस्तित्वको पहिचान
अगाध आस्थाको पवित्र थलो
कुनै कोणबाट पनि देखिदैन खोट
मेरो गाउँको बूढो पिपलको बोट
मेरा बुढाबाले
मेरा बाले
मेरा काका र दाइले
बेलाबखत
पूजा गर्नुहुन्थ्यो
फूल र अक्षता चढाउनुहुन्थ्यो
राता-सेता धजा बाँधिदिनुहुन्थ्यो
प्रसाद चढाउनुहुन्थ्यो
हे भगवान्, हाम्रो रक्षा गर
सबैको कल्याण गर
जान-अन्जानमा हामीबाट भूल भए
क्षमा गर, आशीर्वाद देऊ
भनी याचना गर्नुहुन्थ्यो
गाउँटोलका अरुले पनि
बेलाबखत यस्तै गर्थे
मैले बुझ्दिनथेँ खै के के गर्थे
यति बुझ्थेँ कि सबै शरण पर्थे

मेरी बुढीआमा र आमा
काकीआमाहरू
दिदीबहिनीहरू र भाउजू
गाउँ र टोलका अरु महिलाहरू
बिहान सबेरै झिसमिसेमा
बास बसेका चराचुरुङ्गीहरू
आहाराको खोजीमा पखेटा नफिँजाउँदै
पूजा थालीमा पूजा सामग्री
कलशमा जल
दीप-धुप र सलाई बोकेर
पुग्नुहुन्थ्यो त्यही पिपलबोटमा
दीप र धूप बालेर
जल चढाएर
पूजाआजा गरेर
काँचो धागो वृक्षको वरिपरि बाँधेर
फूल र प्रसाद चढाएर
शिर निहुराएर ढोग्नुहुन्थ्यो
र याचना गर्नुहुन्थ्यो-
हे विष्णु भगवान् आशिक देऊ
जानअन्जानमा गल्तीकमजोरी भए
माफ गर, दया गर
हामीलाई त सदैव तिम्रै लाग्छ भर

समय बित्दै गयो
गाउँटोलका मानिसहरुले सोचे-
यो पिपलबोटमा चौतारो चिन्नुपर्छ
त्यति ठूलो काम पनि थिएन
सबै जुटे र सल्लाह गरे
कस्तो र कत्रो बनाउने निर्क्योल गरे
कसैले ढुङ्गा ल्याए
कसैले गिट्टी ल्याए
कसैले बालुवा ल्याए
कसैले माटो ल्याए
कसैले सीप लगाए
कसैले जे सके त्यही गरे
आस्थाको पिपलबोट
अब चौतारोले सजियो
सुन्दर देखियो

गर्मीको धुप र उखुम
असिनापसिन शरीर
बिहानको काम सकेर
दालभात र तिहुनले पेट पूजा गरेर
शीतल हावा खाने
भेटघाट गर्ने
छलफल गर्ने
बैठक गर्ने
भेला गर्ने
मेलमिलाप गर्ने
दहरमारा र कलब्रेक खेल्ने
लुँडो खेल्ने
क्यारेम खेल्ने
तिहारमा लङ्गुरबुर्जा खेल्ने
रुपान्तरित भूमिकामा रह्यो
पिपलबोटे चौतारो

वृत्तिविकासको शिलशिलामा
केही वर्ष गाउँबाट बिछोडिएजस्तो
ओझेलमा परेजस्तो
आफू गाउँबाट कताकता हराएजस्तो
यस्तै यस्तै नमीठो अनुभूति हुन्थ्यो बेलाबखत
तथापि
मेरो मनमुटुमा
गाउँघर
डाँडा पाखा पखेरा
बाटोघाटो कुलो नहर
खेतबारी आलीकान्ला
साथीभाइ छरछिमेकी
परिवार आफन्त
सहपाठी सहयोगी
गुरूजन एवं शुभेच्छुकहरूको
यादले सताइनैरह्यो
दशकपछि यादले तान्दै तान्दै
गाउँ पुर्यायो

गाउँ पुगेर दृष्यपान गर्दा
३६० डिग्रीको कोणबाट नयन घुमाउँदा
अनुभूति भयो-
गाउँमा विकास पसेछ
ग्राभेल रोडमा कालोपत्रे बसेछ
बाटो फराकिलो भएछ
कच्ची र झुप्रा घरहरू पक्की
र टलक्क टल्किने टिनले छाइएछ
केही कुरा उस्तै हुँदाहुँदै पनि
धेरै परिदृष्यहरू बदलिएछन्
कति थपिएछन्
कति हटाइएछन्
अरु त अरु मेरो पिपलबोटे चौतारो पनि विस्थापित भएछ
गाउँकै अगुवा भन्नेहरू
हामीले नै गाउँमा विकास ल्याएको भन्नेहरू
विकासका आयम नबुझ्नेहरू
ग्राभेल, पिच र ढलानलाई मात्र विकास मान्नेहरू
रुख-विरुवा र जीवनको अन्तरसम्बन्धलाई नजरअन्दाज गर्नेहरू
समाजको आस्था र विश्वासलाई दिग्भ्रमित पार्नेहरू
आफ्नैहरूको आस्था र विश्वासको खिल्ली उडाउनेहरू
आवरण र अन्तर्यको विरोधाभाषमा बाँच्नेहरू
पर्यावरणको आवरण मात्र ओढ्नेहरू
व्यक्तिगत पहिचान र मानको लागि आस्थाको विनिमय गर्नेहरू
सिद्धान्त र आदर्शको भ्रम छर्नेहरू
विकासको नारा दिने ढोंगी र नक्कलीहरूका कोरा योजनाहरूको निशानामा परेछ
बिचरा मेरो पिपलबोटे चौतारो
पर्याप्त विकल्पहरु हुँदाहुँदै
जीवित इतिहास बोकेको
सबैको कल्याण गर्दै आएको
अध्यात्मिक आस्था र विश्वासको धरोहर
मेरा जिजुबाजे पुस्तादेखि सबैबाट पूजनीय
निर्दोष
निरीह
असहाय
प्रकृतिको अनुपम सृजना
मेरो पिपलबोट
अल्पदृष्टि सोचका आडम्बरी मानिसको निशानामा परी शहीद भएछ
म निशब्द भएँ
अवाक् भएँ
मैले के के गुमाएजस्तो
के के नभेटेजस्तो
खल्लो खल्लो
मनै खिन्न भयो
गाउँ आउनुको मजा नै हराएजस्तो भयो
तर
स्मृतिमा रमाउनुबाहेक
मेरो गाउँको त्यो पिपलबोट
त्यो पिपलबोटे चौतारोसँग
अब मेरो भेट हुने छैन
संवाद हुने छैन
कठै
विकासको नाममा शहीद भएको मेरो पिपलबोट मेरो पिपलबोटे चौतारो ।