धनबहादुर दाइ
पानी घट्टको घटेरो
उसको सूर्य घट्टमा नै उदाउँछ
र घट्टमा नै अस्ताउँछ
एक भारी सपनाहरू
सोलीमा हालेर मकैसँगै पिसिरहन्छ
र जाँतोजस्तै घुमिरहन्छन्
उसका पिल्सिएका रहरहरू
एक पसेरी आँटोभित्र
हुँडलेर जीवनका रङ्गहरू
मस्काउँदै पीडाका लप्का
निभाउँछ भोकको ज्वालामुखी
र तान्छ सन्तुष्टिको लामो सुस्केरा
एउटा मैलो भोटो र कछाडभित्र
बेरिएका छन् युगीन जीवनका
चिसा कठाङ्ग्रिने शिशिर र उमङ्गका वसन्त
उसको मनको सँघारमा
खुसीको मुहान कहिल्यै फुटेन
उसको अभावको मझेरीमा
सुखको दिन कहिल्यै झुल्किएन
घट्टका टर्बाइनबाट धेरै पानी बगिसक्यो
हरेक बिहान एउटा आशाको किरण
उसको कटेरोबाट चिहाउँछ
कटेरोबाटै अस्ताउँछ
र निदाउँछ उदास आँखाभित्र एउटा थकित साँझ ।
अझैसम्म उदाएको छैन
सुदूर भूगोलको चिसो छिडीमा
पहारिलो घाम !
°°°
हेटौंडा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला