– सुस्मिता पासवान

म एक्लो थिएँ, एक्लै कतै
मेरो एकान्तमा राज हुन्थ्यो
वास्तविकतादेखि धेरै पर
सपनीमा बास हुन्थ्यो

चरा चुरूङ्गी लता पतिङ्गर
भित्तासँग बात हुन्थ्यो
जब मेरो म थिइनँ
कवेल तिम्रो साथ हुन्थ्यो

मेरो थियो एउटा सिधा बाटो, दिनहुँ दौडिरहँदा
दिनहुँको थकाइमा देह र मस्तिष्क दुवै थाकिरहँदा
तिम्रा दुई मिनेटका गफ हुन्थे दुई जुनी बितेझैँ
एकछिनको हाँसोले निख्रिन्छ सारा क्लेषदुःख नै

तिम्रो साथ रह्यो, मिठा बात पाइयो
सँगै कति भाग्यको लात खाइयो
तर जिद्दी हामी दुवै
हारेनौँ कहीँ कहिल्यै पनि
एक दिन चुमिन्छ शिरतिर
आँशु आउन्न जहिल्यै पनि

साथी, फर्की कहिले आउँछौ भनी बाटो कुर्दैछु
मेरो मुटुको जग्गामा हाम्रा याद उमार्दैछु ।