सरू बस्नेत

मधेश प्रदेश संयोजक :सरू बस्नेत

नयाँ नेपाल

  छविलाल आचार्य

छन्द:शार्दूल विक्रीडित

छविलाल आचार्य

नाङ्गा टार रसाउदै अब यहाँ  फुल्ने र झुल्ने गर
आफ्नै बर्कतमा अनेक थरका उद्योग खोल्ने गर
आफ्नै भाइ लडे अनि सडिगए अस्तित्व रेटिन्छ रे !
हाम्रा भाइ जुटे भने अब नयाँ नेपाल भेटिन्छ रे ।

आऊ फर्क युवाहरू अब सबै पाखा पखेरा भर
बाँधी बाँध बनाउदै झिलिमिली  नेपालमा नै गर
खन्दै खाडल खोतलौँ धरतिमा चाहे सबै दिन्छ रे
हाम्रा भाइ जुटे भने अब नयाँ नेपाल भेटिन्छ रे ।

हावामा जलमा छ सूर्य तकमा उर्जा कहाँ छैन र ?
ज्यूने शक्ति सबै यही धरतिमा भेटिन्छ रे हैन र ?
झुक्ने हैन किमार्थ स्वार्थ पनमा झन् रोग बल्झिन्छ रे
आफ्नै भाइ जुटे भने अब नयाँ नेपाल भेटिन्छ रे।

कस्को के र कहाँ ? अमुल्य प्रतिभा देखिन्छ खोजी गरौँ
भेटिन्छन् यदि लौ भने मगजमा ल्याएर रोजी गरौँ
आफ्नै पौरखमा रमाउन सिकौँ दासत्व मेटिन्छ रे
आफ्नै भाइ जुटे भने अब नयाँ नेपाल भेटिन्छ रे ।

छन् सिद्धान्त कयौं  तथापि नलडौँ तेरो र मेरो भनी
ढिक्का एक बनी लडौँ अब सखे नेपाल मेरो भनी
आँफैमा भरिपूर्ण छौँ यदि भने अस्तित्व जोगिन्छ रे
आफ्नै भाइ जुटे भने अब नयाँ नेपाल भेटिन्छ रे ।

झण्डा फर्फर नै रहोस् शिखरमा वैरी बनून् थर्थर आँटेमा हुनजान्छ झल्मल नयाँ नेपाल हाम्रो घर
पुर्खाका पद चापमा अघि बढे दासत्व मेटिन्छ रे
आफ्नै भाइ जुटे भने अब नयाँ नेपाल भेटिन्छ रे ।

                                     पोखरा -१६ ,कास्की

रक्षा गरून् श्री

हरिमाधव गौतम

छन्द:शार्दूलविक्रीडित

हरिमाधव गौतम

गर्छन् वाचक आज भागवतका व्याख्या अनेकौँ तर
टुक्का मात्र सजाउँछन् हरघडी उम्दा बनी सुन्दर
छोडी शाश्वत तत्त्व वाचक भई व्याख्या कथाको गरी
बस्ने पण्डित विज्ञको अब भने रक्षा गरून् श्री हरि

त्यागी बन्न सिकाउँदा मन भरी आशा बढी दाममा
गर्छन् मुग्ध बनाउने किसिमका व्याख्या यही काममा
झन् झन् पोख्त बनेर गायन गरी देखावटी धारण
गर्छन् व्यास चढेर वाचकहरू माया बनी कारण ।

बुद्धि  ज्ञान विवेकमा कलि लिई लोभी बनी चञ्चल
खोजी द्रव्य सगर्व यो भुवनका घुम्छन् सबै अञ्चल
चाली अञ्चल मात्र लोभ शिरमा राखी बनी वाचक
गर्छन् याचन द्रव्यको अवनिमा झन् योजना घातक ।

चिन्ने शक्ति भएन यो समयमा को राम को रावण
वर्षा बादलको निरावरणमा के कामको श्रावण
उक्ति ज्ञान विहीन वाचन गरी जोडी नयाँ नाटक
दृश्याभास  गरेर भागवतमा पाइन्छ के प्रापक ?

                              ४
भक्ति ज्ञान विरक्ति भागवतमा जे तत्त्व छन् चर्चित
आद्योपान्त भनी प्रसन्न मनले श्रद्धा गरी हर्षित बन्ने
पण्डितमा प्रहार कविको लाग्दैन यो ज्ञान होस्
सुन्नेको मन भित्र रूप हरिको निर्वाणको ध्यान होस् ।

               कागेश्वरी मनोहरा- ५ थली, काठमाडौं

मिलेर प्रेमकी परी 

अविचल आस्थामणि

छन्द:पञ्चचामर

अविचल आस्थामणि

जसो तसो छ लेखिँदै मिलेर तत्व अक्षर
म एक हो बनाउने उदार काव्य साक्षर
मसङ्ग छैन ज्ञानको निखार योे म जान्दछु
परन्तु शब्द लेखिए पुकार अर्थ मान्दछु ।

चुनाव गर्न शब्दको भएन बुझ्छु जो खुबी
ननिस्कने भएँ कसै म प्रेम छालमा डुबी
नमर्न चाहना थियो मरी रहेँ निरन्तर
छु बिर्सँदै स्वयम् कहाँ छु लम्किँदै म भर्खर ।

छ तानिँदै भएर के फलाम बाट चुम्बक
घुमाउने चलाउने छ प्रेम भित्र गुम्बज
न अर्थ प्रेमको बुझेँ अकार्थ प्रेममा रुझेँ
भनौँ र के कसो गरी विमर्श चाहना बुझें ।

बुझेर प्रेम प्राण हो अनामिका कुनै खुला
बनी निमन्त्रणा दिइन् वसन्त वाग पालुवा
नगर्न भन्दछिन् कुरा समस्त गोप्य यो रहोस्
विनम्र भाव भङ्गिमा उपासना रही रहोस् ।

प्रहार वाणझैँ भयो भनेर प्राणले भनी
विभोर बन्न यो गयो सुवास साथ जीवनी
छ वासना फिँजाउँदै उदार भाव मञ्जरी
कसो भयो कसो भयो मिलेर प्रेमकी परी ।
  म्याग्दे महाकाव्यबाट               
                                तनहु, नेपाल

यस्तो भए

रमा खतिवडा

छन्द:माणवक

रमा खतिवडा

यो मनमा  झेल  नहोस्
स्वार्थ नहोस् मेल बढोस्
दु:ख  खुसी  आपसमा
बाढ्न सकौँ  जीवनमा  ।

राख्न सकौँ  भित्र सफा
बन्न  सकौँ   मित्र   सदा
गर्न  सकौँ  खोज  नयाँ
भर्न  सकौँ   सोच  नयाँ   ।

लोभ नहोस् मोह नहोस्
डाह नहोस् क्रोध नहोस्
द्वन्द्व नहोस्  प्रेम बढोस्
निर्मल यो  चित्त  रहोस्  ।

व्यर्थ नहोस्  जीवन यो
अर्थ रहोस्  मानिस  हो
सत्य  कुरा   गर्न  सकौँ
मार्ग नयाँ  हिँड्न सकौँ ।

पाप नहोस् घात नहोस्
दम्भ नहोस् मात नहोस्
बाँच्न  कुनै  कर्म  गरौँ
कर्मसँगै  धर्म  गरौँ ।

                पोखरा

प्यारा युवक जन हाे !

सरू बस्नेत

छन्द : मन्दाक्रान्ता

सरू बस्नेत

ढुङ्गाे माटाे   जति  पनि   हुँदा  मान्नुपर्दैन  पीर
व्याधा   बन्दै   वनतिर  गई  ताक्नुपर्दैन  तीर
खाेस्रे मात्रै पनि जमिनमा स्वर्णझैँ फल्छ अन्न
सक्छाै प्यारा युवक जन हाे ! खेतबारी निखन्न ।

हड्डी   गाल्ने  तरल   पसिना  रक्तमा  घाेलिएर
के बस्छाै  त्याे अनलसरिकाे  घाममा पाेलिएर
ताजा अम्बा बयर निबुवा खान पाइन्छ मेवा
आओ सारा  युवक जन हाे !  देशकाे  गर्न  सेवा ।

छाै  उद्याेगी  हरतरहका  सक्दछाै  काम  गर्न
गैरीबारी   दिनभर  घुमी  श्वेत   प्रस्वेद   छर्न
भर्छाै  गाेजी  प्रतिपल  तिमी  टन्न पैसा गनेर
भर्छाै   मेला  युवक जन हाे !  भूपजस्तै  बनेर ।

मान्छे मर्दा यस मुलुकमा  पाइँदैनन्  मलामी
छाेरा हुन्छाै अरबतिर नै दिन्छ कल्ले सलामी ?
आज्ञा मेराे असल छ भनी थाल सम्पू्र्ण  टेर्न
चाँडै आओ युवकजनहाे ! सभ्य संस्कार हेर्न ।

आफूलाई  मन  मन  कुनै  दीनजस्ताे  नठान
साेच्ता साेच्तै  दहनिर  गई  फुत्त  ढुङ्गाे  नहान
झिक्छाै ऊर्जा नवल युगकाे हेमलाई पगाल्न ।
आँटे सक्छाै  युवक जन हाे ! देशलाई उचाल्न ।

     हाम्रो राम्रो नेपाल

कपिल किशोर घिमिरे

छन्द:भुजङ्गप्रयात

कपिल किशोर घिमिरे

हिमाली    पहाडी   मधेसी  सबै छौँ
मिलेका सबै छौँ सधैँ  मिल्न सक्छौँ
सजाई  धरा यो   अझै  स्वर्ग   पार्छौँ
सधैँ  स्वाभिमानी  बनेरै   रसपार्छौँ ।

अहो!स्वर्ग हो यो जहाँ जन्म पायौं
मिली बस्न   जानौँ  पराई   नठानौँ
हिमाली   पहाडी    तराई    सुरम्य
सबै छक्क  पार्ने  धरा यो छ भव्य।

कतै  भव्य  छानो उँचो  जो  अगम्य
फुले   फूल    राम्रा   बनाएर    रम्य
जहाँ घुम्न जाऊ उतै भुल्न   सक्छौँ
कहाँ पाउँला यो जहाँ झुल्न सक्छौँ।

सबै  मक्ख पार्ने  छ नेपाल  सारा
यहीँ छन् अनेकौं फुलैफूल  प्यारा
यतै छन् असाध्यै  नदी ताल नाना
कतै बग्छ कोशी कतै छन् ससाना ।

जता हेर्न थाल्यो उतै रम्छ आँखा
मनै  मुग्ध  पार्दै  फुले रम्य  पाखा
छ लाली गुराँसै  कतै फूल  लाखाँ
उँधो बग्छ पानी मिली धेर शाखा।

एक कविता

शंकर ढकाल

छन्द:शार्दूलविक्रीडित

शंकर ढकाल

आमाकाे सुखदु:ख रक्त पसिना साटेर झिक्छाै धन
साथी! फूल छ लाशमाथि कसरी साैगन्ध लिग्छाै भन ?
स्वार्थी शाेषण राजनीति नगरी आफ्नै चढाई बलि
नेपाली नववर्ष एक कविता लेखूँ म श्रद्धाञ्जलि ।

झन् स्वार्थी मनदेखि दूषित अहाे! सङ्घर्षकाे जीवन
नेपाली पहिचान इज्जतबिना श्रद्धा दिँदै यी मन
मेराे नै दिलभित्र आज कसरी बस्छिन् वसन्ती परी
धूलाेकाे नववर्ष एक कविता लेखूँ म सीमाभरि ।

छानाेकाे लघु-प्वाल बाहिर तँ जा भन्दैछ छाेप्छस् अनि
धर्तीकाे अधिकार भाेलि दिनमा आकाश राेप्छस् भनी
रेखा-भाग्य रचूँ म कर्म-फलले फेरिन्न फेरी दिन
पात्राेकाे नववर्ष´ एक कविता वैशाख हेरी किन ।

पाेलेकाे अनुहारमा सब खुसी फुल्दैछ  जस्ताे गरी
ए छाेरी! भन ऊ सिँगार्छ कहिले नि:स्वार्थ स्यूँदाे भरी ।
विश्वासी मनले पवित्र तनमा धाेका भएकाे दिन
व्यर्थै हाे नववर्ष एक कविता लेखूँ म व्यर्थै किन ।

विश्वासी मन हाे थियाे तर अहाे खै के गरी फेरियाे
सीधा मार्ग भनी परिश्रम गरी याे भाग्य नै केरियाे
के नै गर्नु गरूँ अझै सरमले झुक्दैछ झन् झन् शिर
ए देवी! नववर्ष एक कविता लेखूँ स्वयं शङ्कर ?
तानसेन ७, काजिपाैवा,पाल्पा

सप्तरङ्गी छन्दमाला शृङ्खलाका संयोजकहरू
१. कोशी प्रदेश – माधव पोख्रेल
२. मधेश प्रदेश – सरू बस्नेत
३. वाग्मती प्रदेश – जानुका गुरागाईं
४. गण्डकी प्रदेश –रमा खतिवडा
५. लुम्बिनी प्रदेश –स्वर्ण शिखा
६. कर्णाली प्रदेश –जागेश्वर नेपाल
७. सुदूरपश्चिम प्रदेश–कपिलकिशोर घिमिरे
८.मुलुकबाहिर – प्रभा पोखरेल “फूल”
सप्तरङ्गी छन्दमालामा प्रकाशनार्थ इमेलः
chhandamalasahityapost@gmail.com