म सोच्छु
महाप्रस्थानको यतिका वर्षपछि
मेरी आमाले पनि पक्कै
यो ब्रम्हाण्डको एउटा शुन्यमा
स्थान बनाए होलान्

र उस्तै गरी रमाए होलान्
जस्तो गरी यहाँ रमाउनु हुन्थ्यो
दिनरात काममा घोटिएर
शुन्य हात पार्दा पनि

शायद आर्य भट्टलाई भन्दा बढि नै
मेरी आमालाई
शुन्यको महत्त्व थाहा थियो
त्यही शुन्य आमाको पोकामा जम्मा हुन्थ्यो

आमा सधैँ
यही ध्याउन्नमा हुन्थिन्
यही कसरतमा हुन्थिन्
कसो गरी
शुन्यको अगाडि चढाउने अङ्क जुटाउन
र क्रमशः यसलाई
महत्त्ववान् र मूल्यवान् बनाएर
हामी सबैलाई
उत्तिकै प्रेमले बाँड्न

मेरी आमाले साँवा अक्षर
लेखपढ गर्न कहिल्यै जानिनन्
तर मनले कोरिरहेका हुन्थिन्
हाम्रो लागि गज्जवको रोडम्याप
जो शुन्यमा पनि
मज्जाले अगाडि गुड्न सक्छ

धेरैपछि
हो धेरै पछि मात्र
मैले बुझ्न सकेको हूँ
आमाभित्र थियो एउटा गहिरो अश्रुकुण्ड
नभरिएसम्म त्यो कुण्ड
उनी बाहिर हत्पत्ति पोखाउँदैनथे आफ्नो आँशु
र उस्तै गरी आमाभित्र थिए
एउटा प्रेम कुण्ड,एउटा करुणाकुण्ड
जहाँबाट अनवरत बगाउँथिन्
जस्तै दुःखमा पनि
हाम्रा लागि वात्सल्य धारा

अनि थियो
आमाभित्र एउटा अग्निकुण्ड पनि
जहाँ उनी यज्ञशालामा जस्तै जलाउँथिन्
आफ्ना पीडा र आर्तनादहरू
सायद त्यही पकाउँथिन्
आत्मीय पाक मसला
र सार्थिन् यसलाई हाम्रो भान्सामा
एउटा जादुगरले जस्तै ।