भोलि तिम्रा तन्नेरी शिवलिङ्गहरूको अभावमा
काठमाडौँको योनि बाँझै पो होला कि ?
साँढेले भित्तामा फिला र योनि सुँघ्दै
झारेको फोस्रो वीर्यले जन्मिने हुन् कि होइनन् बुद्ध ?
जन्मिने हुन् / होइनन् मार्क्स र ग्वेभेरा ?
त्यसैले यो मेरो अन्तिम कविता काठमाडौँलाई ।
**
वाक्य बसेको बूढो भयो काठमाडौँ
उसको सहारामा आड दिने
एउटा बाङ्गे लौरीसम्म छैन
बिरामी भविष्य बोकेर
आँखा चिम्म गरेको स्वयम्भूनाथका
टुँडालमा बसेर परेवा घुर्दैनन् अचेल
शान्तिका नाउँमा ।
एकपाटो नचले जस्तै पक्षघातमा थलिएर
स्वयम्भू आफ्नै पोल्टामा
लोरी गाइरहेछ रोगी वर्तमानको
बुटीको खोजीमा निस्केका फेदङ्वाले
यात्रा भुलेर मृगस्थली जङ्गलमै
कुटी बनाएर हेरेछन् जोखाना
र लगाएछन् टुङ्गो ‘सतीले सरापेको देश’
**
भोलि बिहान उठेर हेर्दा
रानी पोखरीमा छायाँ पर्छ कि पर्दैन काठमाडौँको ?
सवार हुन्छ कि हुँदैन टुँडिखेलमा जनतन्त्रको ?
आजै प्रजातन्त्र र काठमाडौँ भएको दिन
अन्तिम कविता मेरो काठमाडौँलाई ।
**
शान्तिका नाउँमा –
मौन छन् गुम्बामा बुद्ध अचेल
न सुन्छन् न देख्छन्
अन्धा छन् आँखा भएर
अज्ञानी छन् मगज भएर पनि
प्रिय राज्य !
घटाइदेऊ बरु काठमाडौँको अङ्क गणितबाट बुद्ध
तिम्रो एक खिली प्राण छँदै
बुद्धको जुठो बार्ने अभाव नहोस् काठमाडौँमा ।
होइन भने,
बुद्धहरू ब्युँताएर बुद्धुहरूलाई
बरखी बार्न लाउनु पर्छ काठमाडौँको
यतिसम्म कि – रोल्पाली काकीलाई
सिस्नाले तिघ्रा पोल्दा दुख्दैन काठमाडौँलाई ।
सुविधाको अनुभूतिमा
साँच्चै भन्ने हो भने –
हिन्नसम्म जान्दैन काठमाडौं आफैँ ।
**
हिमालमा अभावको भोक रुँदा
विदेश सवार हुन्छ काठमाडौं
पहाडमा छेरौटीले गाउँ सोत्तर हुँदा
रमाउँछ आफू हड्तालका स्वादमै
तराईमा शीतलहरले गाउँ मर्दा
निम्ता बाँडिरहन्छ भोजको ।
दुःखीरामहरूका धूरी धुवाएको/नधुवाएको
देख्न छोड्यो काठमाडौँले ।
धनबहादुरहरू ऋण लागेर मुग्लान भासिँदा
राष्ट्रियता देखाउँदैन काठमाडौँ ।
सिस्नेरी कान्छाको गानोगोला जाँदा
बूढो ओखती दिँदैन काठमाडौँ ।
थकान लागेर विरह चलेको बेला
फेदापे काकालाई हाक्पारे गाउने
चौतारी दिँदैन काठमाडौं ।
**
सुरक्षाको अनुभूतिमा –
वैँश फक्रन लागेका कन्ने केटीलाई
अक्षत राख्न सक्दैन काठमाडौँ ।
साँच्चै भन्ने हो भने,
पर सरेकी कन्या कुमारीको
टालो गाड्ने ठाउँ पनि दिँदैन काठमाडौँ ।
भूत बाँच्यो काठमाडौँ
वर्तमान रोगी भएर
अनिश्चित भविष्यमा !
भोलि बाँच्ने हो कि होइन ?
अन्तिम कविता मेरो काठमाडौँलाई ।
आठराई, तेह्रथुम
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।