डा. वीरेन्द्र केसी

मरेको मान्छे फर्काउन मन छ ।
भनिदेऊ न दैव कति कुद्नु पर्छ ।।
पुजेकै छौँ त फर्काइदेऊ भनी ।
भनिदेऊ न अझै कुन देव पुज्नु पर्छ ।।

तैयार तारा सिध्याउन गनी ।
समुद्र सारा सुकाउन पनि ।।
आकाशको सूर्य भुई झारिदिऊँ कि ।
दुई ध्रुव थिची एक पारी देऊ कि ।।
भनिदेऊ न मैले के गर्नु पर्छ ?
मरेको मान्छे फर्काउन मन छ ।

आकाश पट्याई चकटी बनाउँ कि ।
अञ्जुलीमा सारा बादल खन्याऊँ कि ।।
फेरुँ कि दिन रात सूर्यको चक्र ।
उदाउने पश्चिम अस्ताउने पूर्व ।।
भनिदेऊ न मैले के गर्नु पर्छ ?
मरेको मान्छे फर्काउन मन छ ।

घर भित्रै हुरी छिर्दा न रोक्ने ।
न फक्री फूल झर्दा न देख्ने ।।
कहाँ बस्छौ दैव म त्यहीँ आऊँ की ।
यहीँबाट बिन्तिपत्र पठाऊँ कि ।।
भनिदेऊ न मैले के गर्नु पर्छ ?
मरेको मान्छे फर्काउन मन छ ।

वीरेन्द्र केसी
दाङ,
हालः न्युजिल्यान्ड