साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

फूलको थुङ्गा बगाई लग्यो

कविता

Chovar Blues Mobile Size

दुर्भाग्य !
हाम्रा परेलीका डिलहरू भत्किइरहेछन् आज
सपनामा आफू मरेको देख्ने कविलाई
आज हामी नेपालीहरूले
विपनीमा नै मरेको देख्न पर्यो
नेपालीका गलाका सुन्दर हार चुँडियो
दक्ष सिर्जनशील रानो खरानी भयो
फूलको थुङ्गा बगाई लग्यो
बागमतीको पानीले
हाम्रो साहित्यिक मीयो भाँच्चियो
राष्ट्रकवि नामक धरहरा ढल्न मात्र पुगेन
प्राज्ञ नामक घन्टाघरको समय पनि रोकियो
नेपाली वाङ्मयकी सरस्वती
आँसुको झरीमा नुहाई आइरहेकी छन्।

स्वच्छन्दतावादी भाव धाराको गङ्गामा
अब को पौडी खेल्ला ?
परिष्कारवादी शैलीमा
अब को मुस्कुराउला ?
आफ्नो सुन्दरताको वर्णन गर्न सक्ने
दक्ष शिल्पीको अबसानमा
प्रकृति मलिन मुद्रामा मात्र छैनन्
गहभरि आँसु लिएर
भलभली रोइरहेकी छन्।

योग्य शिल्पीले कुँदेको
चम्किलो हिरा थिए राष्ट्रकवि
चौतर्फ अन्धकारले छोप्दा पनि
उज्ज्वल भविष्यको कल्पना गर्थे
समयको काँडाले घोचिरहँदा पनि
सफलताको बेर्ना रोपिरहे
चन्द्रमालाई ताकेर हिँड्ने यी स्रष्टा
एउटा युग भएर बाँचे
नेपाली साहित्यको सारङ्गीबाट
कर्णप्रिय धुन निकाल्थे
त्यस धुनको जीवाणुबाट
संक्रमित तुल्याए
सम्झनाको रोगी बनाए
श्रद्धाको नशामा मात्र लठ्याएनन्
साहित्यको उज्यालोमा हिँडाए
आफूलाई ठेस लाग्दा
नेपालीलाई दुख्ने बनाए।

उनी सकारात्मक सोचका सम्राट थिए
केही वर्षअघिको कुरा हो
हल्ला खोरहरूले विष वमन गरे
आफू मरेको तुच्छ अफवाहप्रति
उनको कुनै गुनासो भएन
आफू मरेको कस्ले सुन्न पाएको छ ?
बिरलैले पाउने ठूलो अवसर मात्र भनेनन्
लालित्य थपेर स्थिति सुरम्य बनाए।

देशलाई सदा सिरानी हालेर सुत्थे
र त कलमीभै गाँसिए
‘गाउँछ गीत नेपाली’ मात्र रचेनन्
राष्ट्रिय गीत बनेर देश लेखे
अनुवाद भए राष्ट्रसँग
आज उनको देहावसानमा
‘विरह’ स्वयं गौरी बनेर रोइरहेछ
‘बिछोड’ भन्ने शब्द आफैँ
मालती मङ्गलेको जामा लगाएर
वियोगान्तको आँसुमा डुबिरहेछ।

उनी ऋषिसमान ज्ञानी थिए
सर्पले काँचुली छाडेझैँ
सारा ज्ञान भण्डार छाडेर
नाङ्गै खाली हात गए
राष्ट्रकवि माधव घिमिरे
नेपाली साहित्यको
अमर विश्वविद्यालय भए।

sagarmani mobile size

प्रकाशित कृतिहरू: २ नियात्रा संग्रहहरू, १ कथा संग्रह ( संयुक्त) र १ प्रकाशोन्मुख कविता संग्रह
शैक्षिक योग्यता: स्नातकोत्तर

 

गोरखा बजार,
हाल: म्याडिसन अमेरिका

प्रतिक्रिया
Loading...