स्वर्णशिखा

लुम्बिनी प्रदेश संयोजक: स्वर्णशिखा

आशाको किरण

गङ्गानाथ कोइराला

छन्द:मालिनी
गण:न न म य य
विश्राम :आठ अक्षरमा

गङ्गानाथ कोइराला

नवयुग अब आयो मुस्कुरायो हिमाल
सबतिर खुसियाली गर्न खोज्दै बहाल
जन मन छ उज्यालो दुःख पीडा हरायो
सकल मुलुकले नै काँचुली फेर्न लाग्यो ।

कुसुमित हुन बाँकी कोपिला कर्किएका
जति जति सब हुन् ती आज छन् फक्रिएका
वरपर छ यिनैको फैलिएको सुवास
मधुकर किन होला फेरि व्यथै उदास ?

अब किन निहुँ खोजी दन्किएला तराई ?
अनि अब किन होला व्यर्थ आफ्‌नै पराई ?
अब कति कुहिराको काग बन्ला र कोही ?
कुन शठ हठ राखी बन्न सक्ला र द्रोही ।

मुलुकभर अनौठो आज उल्लास छायो
प्रमुदित मनले त्यो पान्थले गीत गायो
प्रगति शिखर चाँडै हेर है चुम्नुपर्छ
अमरपुर अवश्यै देश यो बन्नुपर्छ ।

 

हारेँ

अर्जुन शर

छन्द:मन्दाक्रान्ता
गण:म भ न त त गु गु
विश्राम: चौथो र दसौंमा

अर्जुन शर

हारेँ मैले सबतिर कुनै छैन जित्ने बहाना
थुप्रै बाजीसहित जुधियो छैन जित्ने निशाना
आम्दानी नै छ न त गतिलो काम मिल्ला मलाई
धेरै हारेँ अब विजयको छैन आशा मलाई ।

लेख्दा हारेँ क ख ग पहिले पढ्न थाल्दा म हारेँ
हिँड्दा हारेँ सडक उछिनी दौँतरीले पछारे
बोल्दा हारेँ सरस कविता वाचनै गर्न छाडेँ
खेल्दाखेल्दै अलिकति चुकेँ गोल आयो र हारेँ ।

अन्तर्वार्ता लिखितम दिएँ सोर्स लागेन हारेँ
खोज्दाखोज्दै वय बितिगयो नोकरी आस मारेँ
बेकामे छौँ युवक युवती राज्य संयन्त्र हारेँ
रोजीरोटी पर मुलुकमा मिल्छ यो देश हारेँ ।

कोही पाटी रसिद नलिँदा काम के योग्यताको
आफ्ना मान्छे भरसक परून् जेसुकै होस् अरूको
जित्ने काहीँ शकुन नहुँदा न्याय ढोका चहारेँ
खै के जित्थेँ गरिब म परेँ तारिखैमा म हारेँ ।

भन्थेँ मैले शुभ छ अहिले एक बाजी त मारेँ
थापेँ बाजी सब चिज सकेँ जित्नकै निम्ति हारेँ
के को हुन्थ्यो विजय सजिलै बल्ल आँखा उघारेँ
हारेँ मैले कसम जननी जित्न खोजेर हारेँ ।

कपिलवस्तु

छ देश

स्वर्णशिखा

छन्द:कौशिकी
गण:ज म स
विश्राम:पाँचौँ अक्षरमा

स्वर्णशिखा

हिमालको ठाडो शिरमा
पहाडको अग्लो भिरमा
छ देश चुरेको वनमा
छ यो तराई आँगनमा ।

छ चारकोशे जङ्गलमा
गुराँसरूपी आँचलमा
मुनाल डाँफेका रङमा
छ देश प्यारो गौधनमा ।

छ भेष भाषा उत्सवमा
छ रीतिमा हाम्रा सबमा
जडी बुटीमा पल्लवमा
छ यो तलैयामा नदमा ।

शिखा बनी टल्किन्छ सधैँ
नदी बनी छल्किन्छ सधैँ
छ घन्किँदै यो मादलमा
छ बर्सिँदै यो बादलमा ।

छ देश मेरो स्पन्दनमा
छ देश मेरो जीवनमा
छ देश बोलीमा मनमा
छ देश मेरो सिर्जनमा ।

छ स्वावलम्बीका करमा
छ स्वेदरूपी निर्झरमा
छ देश हाम्रो पौरखमा
छ वीरतामा गौरवमा ।

 

भूमिगत यथार्थ

धनसिंह गिरि

छन्द: शार्दुलविक्रीडित
गण: म स ज स त त गु
विश्राम: छ र बाह्र अक्षरमा

धनसिंह गिरि

हुन्छन् खेल कुकर्मका सहरमा निस्फिक्र पर्दापछि
ठूला नै यस खेलमा छल गरी खेल्छन् तमासा गरी
बन्छन् स्रोत कमाइ गर्न तिनका भन्सार नाकाहरू
चोखा आखिर बन्दछन् भुवनमा जम्मै चनाखाहरू।


धेरै छन् बुझ लुट्न कम्मर कसी ढुक्दै बसेकाहरू
खोज्दै छन् जनता गई हर कुना त्यस्ता फटाहाहरू
औँलामा पनि गन्न मिल्छ विचरा सोझाहरू छन् जति
चेपिन्छन् र बिलाउँछन् हरघडी थोपा बिलाए सरी।

बोल्दैनन् चुप लाग्दछन् सबजना छोपेर आँखा यहाँ
बोले हिम्मतसाथ ती फगतमा पर्छन कुनै जालमा
बुझ्दैछन् जनता सबै दिनदिनै के के हुँदै छन् यहाँ
उघ्रिन्छन् अनुहार ती नकचरा उम्केर जालान् कहाँ

बन्छन् जो खलपात्रझैँ फिलिमका मर्ने सबै अन्तमा
हुन् यस्तै सब देशका नकचरा रुन्छन् परी दु:खमा
लाखौं लाख भए यहाँ अझ बढ़ी कालो धनैका धनी
खोज्दै छन् सुख किन्तु आज मनको भेटाउँदैनन् पनि ।

घोराही दाङ

 

प्रेम

पद्मा रिजाल

छन्द: स्रग्विणी
गण: र र र र

पद्मावती रिजाल

प्रेमका रङ्गले रङ्गिए जिन्दगी
प्रेमकै छालमा उर्लिए जिन्दगी
खुल्दछन् जिन्दगीका पहेली सबै
रम्दछन् मस्त भै जिन्दगानी सबै ।

दर्दले दुख्छ के दुख्छ हेला गरे
शक्ति सत्ता सबै गुम्छ इर्ष्या भरे
डोर सम्बन्धका बाँध्नलाई सधैँ
चाहिने प्रेम नै हो बुझौँ खासमै ।

गाउँछन् कोयली राग हाली मिठा
पर्दछन् मोहमा पुष्पका बाटिका
प्रेमले बन्दछन् मार्ग हाम्रा सफा
बग्दछन् हर्षका स्वर्ण गङ्गा सदा ।

दीप बाल्ने भए शान्तिको विश्वमा
काम गर्ने भए साहसी भेषमा
प्रेमको भावले शक्ति नै भर्दछ
विश्वलाई सधैँ एकझैँ देख्दछ ।

एकता भन्नु नै प्रेमको हार हो
भाइचारा बुझौँ प्रेमको तार हो
इन्दु नै विन्दु भै बास बस्लिन् सधैँ
प्रेमका सिन्धुमै डुब्न जाऔँ सबै ।

बैजनाथ- ५,बाँके

युवा

वीणा रोका

छन्द:निम्ब
गण: न स य

वीणा रोका

अब सब युवा उठौँ है
प्रगति पथमा जुटौँ है
तन मन सबै लगाऊ
कलुष मनको हटाऊ ।

रिपु सुगम खोज्छ बाटो
कठिन स्थिति हुन्छ हाम्रो
नबस न बनेर लाछी
बुझ न खुकुरी निसानी ।

जबतक छ भाइचारा
तन र मनभित्र सारा
कपट मनको हटाऊ
सबतिर सुधा पिलाऊ।

बन श्रमिक हुन्छ जाती
असलपन राख साथी
श्रम र पसिना बगाऊ
जमिनसँग प्रीत गाऊ ।

इलम गर है जुटेर
समय बलवान् छ हेर
बुझ न बुझ देश दुख्दा
अब त बन वीर योद्धा

घोराही दाङ

भूकम्प

चन्द्रावती अधिकारी

छन्द : भुजङ्गप्रयात
गण : य य य य

चन्द्रावती अधिकारी

अहाे ! लाैन कस्ताे धरा डग्मगायाे
सबैले भने फेरि भूकम्प आयाे
सुतेका उठेनन् परानी उडायाे
भयाे नाश धेरै निवासै ढलायाे ।

सधैँ त्रास मात्रै भयाे के हुने हाे
बहाना अनेकाैँ कतिन्जेल के हाे
कतै राेग नाना कतै शाेक यस्तै
सधैँ काल आई रुवायाे असाध्यै ।

नजानेर सुट्टै कताबाट आयाे
अहाे ! काल बन्दै धरा धर्मरायाे
दुधे बालखाकाे गयाे ज्यान हेर
चुसेकाे छ छाती गयाे थिच्चिएर ।

मर्यो शान्ति भन्ने चिजै छैन लाग्छ
पलाएन आशा झनै कष्ट जाग्छ
कतै देशभित्रै कतै पारबाट
पलायाे दशा याे कठै ! बारबार ।

पुराना र थाेत्रा थिए थातबास
ढलायाे चितामा भए एक गास
भयाे अश्रुवर्षा भयाे घाेर घात
अहाे !खात खातै भए धेर लास ।


नजाने कहाँकाे कुनै दुष्ट आयाे
लुकाएर दाह्रा सुटुक्कै चपायाे
लथालिङ्ग पार्याे चिथाेरेर सारा
थियाे दुश्मनी के छुटायाे सहारा ।

सप्तरङ्गी छन्दमाला शृङ्खलाका संयोजकहरू
१. कोशी प्रदेश – माधव पोख्रेल
२. मधेश प्रदेश – सरू बस्नेत
३. वाग्मती प्रदेश – जानुका गुरागाईं
४. गण्डकी प्रदेश –रमा खतिवडा
५. लुम्बिनी प्रदेश –स्वर्ण शिखा
६. कर्णाली प्रदेश –जागेश्वर नेपाल
७. सुदूरपश्चिम प्रदेश–कपिलकिशोर घिमिरे
८.मुलुकबाहिर – प्रभा पोखरेल “फूल”
सप्तरङ्गी छन्दमालामा प्रकाशनार्थ इमेलः
chhandamalasahityapost@gmail