ज्ञानगुनका सागर हे कपिस साथी मेरा
आऊ सघाऊ बचाउन यी मेरी सीता
प्रिया छन् मेरी चाहना र भावना कि खानी
सबले बोलाउँछन् उनलाई फकाई फुलाई

भावनामा बग्दा उनी चिप्लिजान्छिन् कि कतै ?
बिर्सिन्छिन् कि प्यारीले आफ्नो सीमारेखा नै ?
काम क्रोध लोभ मोह वासना आदि आदिले
आउँछन् कि लिन उनलाई अनेक प्रलोभन देखाई ?

चाहना र भावनाको आन्तरिक यो लडाईँमा
चिप्लिन्छिन् कि उनी कठै लंकेशको चाल नपाई ?
आऊ मेरा प्रियतम सुमतिका माली कुमति निवारक
खोलिदेऊ मेरी प्रियाको बुद्धि विवेकको भण्डार

ज्ञानगुनका सागर कपिस हे साथी
मेरी प्रियालाई भावनाको खोलामा बग्न होइन
विवेक रुपी लौरोको सहाराले तर्न सिकाइदेऊ
लंकेशको बुद्धिमा भावनाको सम्मान गर्न सिकाइदेऊ
भावुक भएर होइन जीवनका हरेक मोडमा
विवेकको प्रयोग गर्ने बुद्धि मेरी प्रियामा जगाइदेऊ

मेरा प्रियतम कुमति निवारक सुमतिका माली
विवेकको प्रयोग गर्ने बुद्धि मेरी प्रियामा जगाइदेऊ ।

 

 

भावनामा बग्ने मन – सीता

मनका अनेकौँ चहाना – लंकेश

विवेक – हनुमान

आत्मा- राम