संविधान आउनुपर्ने थियो
महाभूकम्प पो आयो
बनाउनु पर्ने देश
भत्काए र पो गयो
गयो त्यो गयो
महाभूकम्प गयो

हेर्दाहेर्दै वर्षौ बुढो धरहरा
मठ – मन्दिर र पुराना कयौँ दरबार
गाउँघर, बजार अनि शहर
पारेर छिनभरमै खण्डहर
गयो त्यो गयो
महाभूकम्प गयो

समय मै संविधान बनाउने सद्बुद्धि दिएर
खिचातानी असहमति आफैँसँग लिएर
भत्किएको देश आफैँ बनाउने
हाम्रो सामर्थ्य विश्वलाई जनाउने
यस्तै संदेश नेपालीमा छरेर
हुँदै नसक्ने सहमति गरेर
गयो त्यो गयो
महाभूकम्प गयो

शहरका गगन चुम्बी सिमेन्टका महल
वा गाउँघरका कच्ची माटोका घर
सबैको जग हल्लाएर
कतिलाई ढलाएर
कतिलाई गर्लम्याएर
अब उप्रान्त भूकम्प प्रतिरोधी संरचना
बनाउनु भन्दै हकारेर
गयो त्यो गयो
महाभूकम्प गयो

घर मालिक र डेरावालाका बिच
मालिक र नोकरका बिच
ठुला र सानाका बिच
अनौठो सम्बन्ध बोध गराउँदै
तेरो मेरो भन्ने भावना मराउँदै
को साम्यवादी को पुँजीवादी
सबको मन मस्तिष्क हल्लाउँदै
गयो त्यो गयो
महाभूकम्प गयो ।

सबको बास खुलाधर्तीमा
मरीलानु केही छैन खल्ती हुन्न कात्रोमा
विनाससँगै विकासको ढोका खुल्दछ
काँडामाथि नै शृष्टिको सुन्दर फूल फुल्दछ
यही अर्तिले हामी सबलाई बाँधेर
समय कालम फेरि आउने सम्भाव्यता
साँचेर गयो
गयो त्यो गयो महाभूकम्प गयो ।

नुवाकोट, बेलकोटगढी १
हालः काठमाडौँ, सुकेधारा