चुनाव त
गुलिया गफ गरेर मददाता फकाउन माहिर
महप्रसादका छोरा चिनीमानले नै जित्छन्
किनकि हाम्रो देशमा आफन्तका आँसुले विरासत थामेको
गणतान्त्रिक इतिहास छ
किनकि दसकौँअघि महान् नेता मनप्रसाद मारिएपछि
उनकै श्रीमतीका आँसुले चुनाव जितेका थिए
पोहोर परार अर्का नेताले दुर्घटनामा ज्यान गुमाए
फेरि उनकै श्रीमतीले आँसु बेचिन्, चुनाव जितिन्
श्रीमतीका आँसु बिक्ने ठाउँमा छोराका त कसो नबिक्ला
पितृसत्ताको आड जो छ !
चिनीमानलाई कसैले चिन्दैनन्
चिनीमानलाई मान्छेले नचिनेर के भो
उनको उमेरका भोटहरू गाउँमा को छन् र !
गाउँमा भएका बूढाखाडाले महप्रसादलाई मात्र चिन्छन्
फेरि, हाम्रा अध्यक्ष कमरेडले पोहोर साल भन्नु भाको
पाखामा पिसाब फेर्यो भने पानी पर्छ रे
नभन्दै पोहोर पानी पर्यो
हाम्रा महामहिम नेताको बोली अकाट्य छ
जे बोल्यो त्यही पुग्छ
यसपालि पनि आँसु बिक्छन्
हाम्रा चिनीमानले नै चुनाव जित्छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।