आङमा घाम लागिसक्यो
कति सुत्न सकेको ?
पूर्वजूनिमा त सर्पै रहेछ कि ?
– कता’न अबेरसम्म सुत्दा आमा यसै भन्नुहुन्थ्यो !
**
सम्झेँ,
आँखामा क्रोध र हृदयमा आगो लिएर
पूस्त्यैनी दुश्मनी साँध्नकै लागि
मात्र, अर्जुनवधमा निस्केकी
सुन्दरी नागकन्या उलूपी थिएँ म ।
* *
मायावी युद्द-सम्राज्ञी
सम्मोहनकी देवी थिएँ
र थिएँ, बिछट्टै सुन्दरी
तर कसरी पग्लिएँ
मैन जस्तै आफ्नै आगोमा
र परेँ मोहमा अर्जुनको ?
**
कि थिएँ इरावन ?
र चढेँ नरबलि
कथित धर्मयुद्धलाई सघाउन
र बनें, मायावी कृष्णको एकदिने लोग्ने
मात्र एकथान अतृप्त स्वप्नका लागि ?
* *
र, जन्मिएँ विल्लुपुरमा
तथाकथित ईश्वरका नाममा
र, उल्टो बग्दैबग्दै आइपुगेँ
मर्स्याङ्दी किनारमा, यसरी !