घ्यू बेचाहा
तरबार बेचाहा
कथाजस्तै
स्वाँठका नियति
बुझी नसक्नुको छ

थाहा छ होला नि
त्यो दिन
मुखपत्र अघि राखेर
वाक स्वतन्त्रता
रटाएथ्यौ
निःशुल्क संविधान
उपहार पठाएथ्यौ
प्रजातान्त्रिक अभ्यास भन्दै
प्राज्ञिक बहस चलाएथ्यौ
नीति विधि पद्धति लतारेर
के के ढलाएथ्यौ
लटरम्म दण्डहीनता फलाएथ्यौ

खुब शिक्षाप्रेमी
विकासप्रेमी
क्रान्तिका हिमायती
हुँ भन्छौ
अनि फेरि
शिक्षा सारथिलाई
गलत नजीरले हेर्दै
निगरानी राख्दै
पुर्जी जारी गर्दै
ढोका थुनेर
किन स्पष्टीकरण माग्छौ
बिरालोलाई ढोका थुनेर
तर्साउन खोज्दा
आउने प्रतिफल
फलदायी होला !

कालोलाई कालो भन्दा
तिल्केलाई तिल्के भन्दा
उसको मथिङ्गल
किन खल्बलिन्छ !

न्वारान देखिकै
शक्ति लगाएर
श्रमजीवी कलमको
खेदो खनेर किन थाक्दैनौ !

सञ्जालको बिस्कुन हेरेर
दिनचर्या बिताउँदै
अरूकै कठपुतली भएर
अरूकै छलाङ यात्रालाई
बाटो देखाउन
कुहिराको काग झैँ
काँ काँ काँ गर्दै
किन कराउँछौ !

सबैले ससम्मान बाँच्न
पाउनुपर्छ भन्दा
सेवा गरेपछि मेवा
पाउनुपर्छ भन्दा
तिम्रा हृदयमा
पराकम्प किन आयो

भन्देऊ त महोदय
ती गुनासो पोख्नेहरू
कसरी अराजक भए
के तिनीहरूले
तिमीले झैँ
यो धर्तीमा टेक्नै नहुने हो ?
के भुतल तिम्रै बिर्ता हो ?
सोचविचार गर त
के तिम्रै निगाहमा
चल्नु मात्रै प्रजातान्त्रिक हो ?

के तिम्रै आस्थाको
झण्डा ओढेर
तिम्रै पाउ ढोगेर
तिम्रै भजन जपेर
साह्रा पीडा खपेर
तिम्रै भागमा
आँसु थपेर
हिँड्नुपर्ने हो ?

आफ्नो सजीव
त्यो कुरुप अनुहार
सफा गर्न छाडेर
निर्जीव ऐनालाई
किन दोष दिन्छौ ?

महासय भन त
छातीमा हात राखेर
मरेर जाँदा के लान्छौ ?
आखिर दुस्मनी के का लागि ?

तसर्थ
पृथ्वी गोलो छ
आलोपालो सबैको आउँछ
प्रकृतितर्फ हेर त
दिनपछि रात
रातपछि दिन
एक मागले जाडो जाँदैन
सक्छौ राम्रो गर
सक्दैनौ नराम्रो गर्दै नगर

आशीर्वाद दिऊँला
हाकिम बन
तर
झुक्किएर पनि
हाकिमी प्रवृत्ति
सदाको लागि बन्द गर

अन्ततोगत्वा
तिमी र ऊ भित्र
रगतको रंग उही छ
प्राण वायु उही छ
जन्ती र मलामी उही छ

फरक यति छ
तिम्रो दिनदिनै तात्ने चुल्हो
अनि
उसको
बल्लतल्ल तीन चार महिनामा
तात्ने चुल्हो

‘भोकाएकाले भन्छ डाँडावारी खाऊँ
अघाएकाले भन्छ डाँडापारी खाऊँ’

कुरो बुझ्यौ होला नि
डाडुपन्यौ समात्ने हातलाई
चम्चाले बिगार्ला
होस् गर
कथम कदाचित
मेरो भन्ट्याङभुन्टुङ
पढाउने गुरुहरूलाई
भोको भएको
पेट कसेको
कहिल्यै
स्वयम्भूको आँखाले
देख्न नपरोस्
भावी घडीमा
तिम्रा असल व्यवहारको
खुलेर प्रशंसा गरिरहन पाऊँ
~~~~~~
गजुरी, धादिङ