साँझको समय
करिब ७ बजेतिर
झमझम दर्किरहेछ
आकाशबाट पानी !
झ्यालको पर्दा खोलेँ
यसो हेरेँ बाहिरतिर
निरन्तर आकाशबाट
बर्सिरहेछन् पानीका थोपाहरू
झ्वाट्ट सम्झिएँ !
ती चर्किएका पाउहरू
जाडोले कठ्याङ्ग्रिएका ती हातका औँलाहरू
दिनभरको काम
साँझमा थकित अनुहार
के गदै होलिन् मेरी आमा !
हेर्छु दायाँ बायाँ
देख्छु सुकिला झ्यालका पर्दाहरू
अनि हेरेँ, यसो झुकेर एकफेर आफैँ उभिएको भुइँतिर
कार्पेट बिछ्याइएको सुकिलो भुइँ
देख्छु सुकिला हातगोडा
फेरि झस्स सम्झिएँ !
अस्तिको भिडियो कल
पसिनाले निथ्रुक्क भिजेको बाबाको अनुहार
सम्झिएँ त्यो खाडीको ५०° को घाम
अनि महसुस गरेँ
आफू आफैँसँग थाकेका ती थकित आँखामा देखिने
सन्तानका भविष्यका निम्ति सुनौला सपनाका मधुर आकृतिहरू
आँखा चिम्म गरेँ ! झ्यालनिरै उभिएर
देखेँ
सुकिला मानिसहरूको शहरको कुनै कुनामा टक्क उभिएको
आफ्नै सुकिलो प्रतिबिम्ब !
तुलना गरेँ त्यो सुकिलो प्रतिबिम्बसँगै
चर्किएका आमाका ती पैतालाहरू
खाडीको ५०° घामसँग बितेका बाबाको 12 वर्षहरू !
ओठले व्याख्या गर्न नजानेका थकित आँखाले देखेका ती सपनाहरू !
अनि सोधेँ आफैँले आफैँसँग प्रश्न
अँजुली
तेरो शैक्षिक प्रमाणपत्रहरूले
चुक्ता गर्न सक्छन् कि सक्दैनन् होला, खाडीमा बितेका बाह्र वर्षहरूको मूल्य ?
श्रम र पसिनाको भर्याङद्वारा
सुकिलो सहरमा भविष्य बोकेको बस भेटाउन पठाउँदा
बिदाइ गरेका आमाका ती हातहरूका मूल्य !
झरेका आँसुहरूको मूल्य !
चुकाउन सक्लान् कि नसक्लान् भोलि तेरा शैक्षिक प्रमाणपत्रले ?
मनै मनले सोधेँ
अर्को प्रश्न फेरि सरकारसँग !
कहिलेसम्म हजारौँ बाबाहरूले
सन्तानको सुनौलो भविष्यका निम्ति
जिन्दगीका १२/१५ वर्ष खाडीमा बेच्नु पर्ने हो सरकार ?
कहिलेसम्म खाडी मुलुकमा श्रम र पसिना लगानी गर्नु पर्ने हो ?
अनि बाबाहरूको श्रम र पसिनाको लगानीमा किनेको
शैक्षिक प्रमाणपत्र अनुत्पादक भइसकेपछि देशभित्र
डुबेको लगानीको साँवा र व्याज तिर्नका लागि
शैक्षिक प्रमाणपत्र दराजमा थन्काएर !
जिन्दगीको १२/१५ वर्ष धरौटी राख्न
कहिलेसम्म विदेशिनु पर्ने हो दैनिक जसो देशका होनहार युवाहरू ?
कहिलेसम्म चल्छ यो प्रक्रिया सरकार ?
कहिलेसम्म चलिरहने छ यो प्रक्रिया ?
मलाई यी प्रश्नहरूको जवाफ देऊ सरकार !
ताकि म आफूले आफूलाई
तिम्रो उत्तरअनुसार तयार गर्न सकूँ !
निखार्न सकूँ आफूलाई तिखार्न सकूँ तिम्रो उत्तर अनुसार !
आफूले आफैँलाई भोलिका निम्ति
१२/१५ वर्ष खाडीमा बेचिनु परेका बाबाहरूको निम्ति
टन्टलापुर घामसँग मजदुरीमा पसिना साट्ने आमाहरूको निम्ति
तयार गर्न सकूँ म आफूले आफूलाई तिम्रो उत्तरअनुसार !
यो देशको निम्ति !
यो व्यवस्थाको निम्ति !
नेपालगन्ज
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।