उहिले वनपाखा काँडाले घोच्थे
औँला खुम्याउदै हिँड्थे
सम्हाल्दा सम्हाल्दै घोच्थे काँडाहरू
कडा परिश्रम समर्पणको मिश्रण
सफलताउन्मुख गन्तव्य
कठित तर सफल हुने चाहना थियो
नकारात्मकता भित्र
सकरात्मक भाव खोज्दै
बाटो हिँडेका गरेको बटुवाहरू
अनकन्टार बिसौनीमा पुगे
साहस हिम्मत खोज्दै बटुल्दै भारी बिसाई
शिखर चुम्ने रहर अनि चाहना
काँडाले काँडा निकाल्दै हिँड्न जानेकाहरू
गोधुलीको धुमिल प्रकाशमा प्राण बिसाउँछन्‌
आशामा परिणत गर्दै फरक तवरले हिँडनेहरू
सक्षम मिसन भिजनमा समर्पित हुन्छन्‌
आकाशको कालो बादल हट्ला भन्ने आशाले
मनसुनलाई आँखामा लुकाउँदै लम्किएकाहरू
पानी छेक्न ओडारमा बसेको गोठालोसँग
बसिबियाँलो गर्दैछन्‌
गाईवस्तु भिरमा चरेको हेर्दैछन्‌
अमावस्याको बेहुली अवनीको छेउमा
बेहुलाको प्रतिक्षामा स्वर्णिम सपना बुन्दैछिन्‌
कस्का सपनाहरू पुरा हुन्छन्‌
कसले तारापुञ्ज छुन्छ
गोठालो भाग्यको रेखा हत्केलामा हेर्छ
अँध्यारो बाटो हिँड्दा हिँड्दै
मिरमिरे उज्यालो पाएकाहरू
गन्तव्य भेटाउने आशामा छन्‌
ढोकामा बत्ती बलेकै थियो
हावाहुरीले निभाउला भन्ने चिन्ता यथावत् छ
वर्षौ प्रतिक्षामा बसेकी प्रेमिका
अँध्यारो छिचोल्दै आलिङ्गन गर्न खोज्छिन्‌
ढोकामा कर जोड्दै स्वागत गर्छिन्‌
अनुभव सधैँ खराबले सिकाउँछ
हिसाब कोर्दै बेहिसाब निस्कन्छ
अझ कोसौं टाढा हिँड्ने तालिका बन्दैछ
खस्न डराउने उड्न सक्दैनन्
धुलो टट्क्याएर हिँडनेहरू
अन्तिम लक्ष्य काँधमा बोक्छन्‌
जीवनको कसम खान्छन्‌
लडाइँ लड्नेले कि हार्छ कि जित्छ
लडाकु चुनौती स्वीकार गर्दै हिँडेको छ
निरन्तर प्रयासमा हिँडेको छ
अबको गन्तव्य
जनतन्त्र अर्थात्‌ लोकतन्त्र
नेतातन्त्र होइन
कुर्सीतन्त्र होइन
झुटतन्त्र होइन
भ्रष्टतन्त्र होइन
भिडतन्त्र पनि होइन
अपराधितन्त्र होइन
हुल्याहा मुल्याहातन्त्र होइन
लोकतन्त्र अमर बनाउनु छ
लोक लोकको वाणीमा
लोकतन्त्र अमर रहोस्‌
स्थापित गर्नु छ ।

* महालक्ष्मी-०१

इमाडोल, ललितपुर