पुछिएछ सिन्दुर सिउँदो छ खाली
अभागी भनी सबजना दिन्छन् गाली
फुटेछन् चुरा आज रित्तो छ हात
नजानोस् मलाई छाडी हे प्राण नाथ
छिनाएर पोते गला रित्तो पारी
टिका छाप गाजल सिन्दुर सब पखाली
जबरजस्ती फेरि केश मुण्डन गराई
पहिरियो सेता वस्त्र रोई कराई
लग्यो प्राण खिची निष्ठुरी काल आई
म बिर्सुँ कसोरी प्रभु नाथलाई
छचल्किसक्यो आशु आँखाहरूको
मुटु धड्कियो छाती भो झन् गरुङ्गो
पुछियो सिन्दुर यो अकेली छ नारी
म बाँचु कसोरी परो दुःख भारी
भयो बज्रपात फुट्यो आज छाती
विधवा भई बाँच्नु सारै नजाती
केहीछैन औषधी फुटेका मुटुको
पिई जिउनु पर्ने आँसुको घुट्को
म बाँचु कसोरी जीवन साथी छोडी
हानिस् पापी काल छातीमा आज गोली
रहेछौ नि यमराज तिमी सत्र जाली
पुछियो सिन्दुर यो सिउँदो छ खाली
भएँ आज जिउँदो म मुर्दा समान
म हुँ एक नारी अकेली नठान
बिना अग्निले यो कलेजी जलायो
हजुरका वियोगले बेहोसी गरायो
विलायो हाँसो ओठमा छैन लाली
पुछिएछ सिन्दुर सिउँदो छ खाली
भएछु विधवा उमेर यो छ कच्चा
म हुर्काउँ कसोरी सबै बालबच्चा
कोही भात माग्ने कोही माग्ने पानी
बिताउँ कसोरी म यो जिन्दगानी
ती देवर जेठाजु देउरानी जेठानी
सबै बोल्दछन् मुटुमा वज्र हानी
थिच्यो यो सगरले अभागी मलाई
थिए आफ्ना जो भए पराई
नत सम्पत्ति धन दौलत छ घरमा
सधैँ खान लाउन अरुकै छ भरमा
कसोरी म बाँचु सधैँ दुःख काटी
सिन्दुर यो पुछी बाच्नु सारे नजाती
कति बालविधवा भएका छन् नारी
जीवनको कठै को हुने जिम्मेवारी
भएछु कसिङ्गर सबैका नयनमा
आँसुको बन्यो ताल आज यो शयनमा
भयो पूर्ण यौवन अनेक छन् तरङ्ग
पुछिएछ सिन्दुर भयो मन भरङ्ग
थिए एक आँतका जति दाजुभाइ
भएँ बालविधवा भए सब पराइ
सधैँ डाह गर्छन ती भाउजू बुहारी
सकेनन् हरे हेर्न दृष्टि उघारी
मुटुमाछ शूल छातीमा छ पिर
बुवा आमालाई प-यो पिर
कसोरी म बाँचु सधैँ रोई रोई
जीवनको सहारा म देख्दिनँ कोही
बसुँ माइतीमा पनि छैन ठाउँ
कहाँ गई हरे जिन्दगी यो बिताउँ
बसुँ घरमा आज यही छ चाल
भयो दुर्दशा के गरी पर्खुँ काल
वचन लाउँछन् नन्द आमाजू र सासू
म बाँच्नु कति रक्तका चाटी आसुँ
सबै भन्दछन् पोई टोकी भनेर
म रुन्छु सधैँ न्याउली झैँ बनेर
टुट्यो बस्ने आश पनि आज घरमा
म जङ्गल पसुँ कि बसुँ बास बगरमा
म रुन्छु जति आँसुको छैन मूल्य
भयो यो जीवन औंसीको रात तुल्य
म पाउँदिनँ कोही भरोसा कसैको
म दोषी भएछु नजरमा सबैको
कसैसँग बोल्दा पनि होसियारले
सुसंकेत गरी हेर्छन् टेढा नजरले
भएँ आज बोझ पिता मातालाई
सधैँ बाँच्नु पर्ने कलेजा जलाई
ती नारीहरूको कि त रोक सृष्टि
सबैको मैमाथि छ शंका र दृष्टि
हे ईश्वर तिमीले बुझी लेउन मर्म
म थाँमु कसोरी सबै पुण्य कर्म
ती छोरा बुहारी पनि डाह गर्छन्
मिठो बोली बोल्दा पनि नेत्र तर्छन्
म बाँचु कति छातीमा अग्नि बाली
पुछिएछ सिन्दुर सिउँदो छ खाली ।

सुन्दरहरैंचा—६, दुलारी
मोरङ