हो त्यही स्वर्ग रहेछ
जहाँ तिमी, तिम्रो मुस्कान र तिम्रा अवशेषहरू जीवित थिए
जहाँ तिम्रा मिठा मिठा कपोलकल्पित भए पनि विश्राम नलिकन बोलिएका आवाजहरू मिश्रित थिए
जहाँ तिम्रो गडगडाहट्मा, म दुनियाँले मलाई दिएका श्रापहरू बिर्सिदोरहेछु
जहाँ खाली खुट्टा र च्यात्तिएको गञ्जी लगाएर म उराठलाग्दा पाटाहरूमा उफ्रिँदोरहेछु
हो त्यही आश्रम रहेछ
जहाँ तिम्रो रातोमाटो पोताई अनि लपक्कै तिमीजस्तै गोरो कमेरोले झुपडी नी उज्यालो बन्दो रहेछ
जहाँ झिँगटी लगाएका छानाहरू वर्षौंवर्षको पानी चुटाइले झन् रङ्गीन भयौँ भन्दोरहेछ
जहाँ तिम्रो हात सुम्सुम्याउन झारहरू दिनहुँ हुर्किंदा रहेछन्
जहाँ रित्तिनै लागेको भकारी र निभ्नै लागेको त्यो भुङ्ग्रो तिमीबाटै रित्तिन र निभ्न फुर्किदा रहेछन्
हो त्यही बालापन रहेछ
जहाँ तिम्रो लखेटाई र मेरो भाग-भगाईमा कैले तिम्रो जित त कैले मेरो जित हुँदोरहेछ
जहाँ भारी नबिसाई तिमी हिँड्ने र म तिमीलाई पछ्याउने क्रम नै मेरो प्रीत हुँदोरहेछ
जहाँ सिस्नोले तिम्रै बाटो कुरेर बस्दा म हतारिँदै मेरो नाङ्गोपन छोप्दो रहेछु
जहाँ यसै तिमीले करके नजर लगाउँदा नै मेरो कलिला हातले भोजन कोच्दो रहेछ
हो, त्यही समाधि रहेछ
जहाँ तिम्रो उम्लिदो जोश र जाँगर शिखर चुम्न आफ्ना केशरा बुन्दोरहेछ
जहाँ तिम्रो सहनशिलता र संयमताको बयान भेष र भुषामै हुँदोरहेछ
जहाँ तिमी आफ्नो कष्टकर घडीमा आफ्नो चमक घट्नै नदिने प्रयासमा रहेछौ
जहाँ आफ्ना धारा बगाएर हुर्काएका कलिला अङ्गहरूलाई छाड्ने शोकमा रहेछौ
जहाँ पीडालाई रुवाउने, खुसीलाई रुवाउने, यी सबै रुँदा नि यी सबैको भोक जो सहेछौँ
हो, त्यही समाधि रहेछ
हो, त्यही स्वर्ग रहेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।