सधैँझैँ ससुरालीघर (कोठा) पुग्दा
मैले तपाईंलाई देखिनँ- सासूआमा
कानले तपाईंको बोली खोज्दै थियो
“ज्वाइँ आइपुग्नु भयो ?”
बोलीले भन्न खोज्दै थियो कि
“आमा के गर्नुहुँदैछ ?”
न कानले प्रश्न पायो, न बोलीले उत्तर दिन नै पायो
आँखाले तपाईं बिरामी परेर दुई वर्षसम्म
सुत्नुभएको ओछ्यानमा खोज्दै थियो
तर तपाईंलाई देखेन र मलिन भयो
यो जिब्रोले खोज्दै थियो
तपाईंले जुनै अवस्थामा पनि
खुवाउनु हुने मिठो चियाको चुस्की
अनि यो सिङ्गो ज्यानले खोज्दै थियो
हजुरको प्यारो आतिथ्य
तर सबै सबै असफल भए
जस्तो-
तपाईंलाई बचाउन जोड गर्ने हामी परिवार
आफन्त तथा शुभचिन्तकहरूको निको भइन्छ भन्ने ढाडस
उपचार गर्ने डाक्टरहरू अनि समय-समयमा औषधी गर्ने नर्सहरू
तपाईंले म पाएर के पाउनु भयो
त्यो थाहा छैन मलाई
जुन कुरा आफैँसँगै लिएर जानुभयो
तर मैले तपाईं पाएर धेरै कुरा पाएँ
जसले आज मलाई
तपाईंसँगको लामो विच्छेदमा
पटक-पटक विक्षिप्त पारिरहेको छ
जुन सम्झिँदासमेत ममा हुरी आइरहेको छ
मैलै जिन्दगीमा अहिलेसम्म गुमाएको सबैभन्दा ठूलो कुरा
भविष्यमा अरु पनि होला तर
आजसम्ममा तपाईं हो सासूआमा
मेरो आँखाले हेरेको सबैभन्दा काहालीलाग्दो क्षण
हजुरको अन्तिम श्वास हो
मेरो हातले समातेको सबैभन्दा दर्दनाक पीडायुक्त कुरा
तपाईंको हातको तातो बिस्तारै सेलाउनु थियो
मलाई आजसम्म छोड्न कठिनाई भएको ठाउँ
हजुरले अन्तिम श्वास फेर्नु भएको अस्पतालको बेड हो
जुन म आफैँलाई विश्वास नलागेर
तपाईंको श्वास बिनाको शरीर गाडीमा आफ्नै हातले राखेर पनि
तपाईंलाई हेर्न पुन: त्यो बेडसम्म गएँ
जब तपाईंलाई देखिनँ
अनि मात्र म विश्वस्त भएँ र रोएँ
त्यसपछि
मैले अहिलेसम्म गरेको सबैभन्दा नराम्रो यात्रा
तपाईंको प्राणबिनाको शरीर लिएर गाउँ जानु
मैले निदाउनु परेको सबैभन्दा कालो रात
जुन रात तपाईं कहिल्यै नउठ्ने गरी सुत्नुभएको रात
मैले बाल्यकालदेखि अहिलेसम्म अनेकौँ थोक बोकेँ हुँला
तर सबैभन्दा गह्रौँ र फेरि बोक्न नपाउने गरी तपाईंलाई अन्तिम पटक बोकेँ
जबकि तपाईंलाई मैले चाहेर पनि कुनै दिन
बोक्न पाउने छैन
यी मेरा हातहरूले यो तेत्तिसौं वसन्त पार गर्दासम्म
कति यो धर्ती खने हुँला
तर यसपालि यस्तो दुखद् धर्ती खनाइ भयो
जहाँ तपाईंको शरीरलाई राखेर अन्तिम बिदाइ गर्नु थियो
र यो देब्रे हातले उचालेको सबैभन्दा रुखो माटो त्यो भयो
जुन खाल्टोभित्र तपाईंको शरीरमा तीन मुठी फाल्यो
तपाईंको सम्झना त यो मनमा आइरहला
यो मन यो धर्तीमा रहुन्जेल
तर तपाईंको बिदाइको पल नसम्झनु पनि नसकिने
सम्झिँदा पनि साह्रै नमिठो लाग्ने
त्यो बिजुली बत्ती बिग्रिएको रात
उराठलाग्दो हावा र बिजुली चम्किएको उज्यालो
एकोहोरो कुकुर भुकाइ
मनमा पहिलो भेटदेखि अन्तिम वाक्यसम्म भएका गफगाफ
हुरीबताससँगै चलिरह्यो
कुकुरको भुकाइसँगै रेकर्डिङ भइरह्यो
अझै पनि चलिरहेको छ
चलिरहनेछ- अल्बिदा सासूआमा ।
रोङ-४, इलाम
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।