
हामी किन यति गनगने?
खाली विकाश भएन भन्ने
समृध्दी आएन भन्ने
उन्नति भएन भन्ने
प्रगति भएन भन्ने
परिवर्तन चाहियो भन्ने
स्वदेशबाट विदेश निर्यात भएन भन्ने
गनगन गर्नुको पनि सीमा हुन्छ नि?
विकास भएको चैँ नदेख्ने
केवल धृतराष्ट्र बनिदिने ?
के दैनिक युवायुवती विदेश निर्यात भएको
विकास चैँ विकास हुनु हैन ?
रमेशको छोरो विकास जन्मनु चैँ विकास हैन?
तल्लाघरे साइँलाकी छोरी समृध्दि
घर आउनु चैँ समृध्दि आउनु होइन्?
माथ्ला घरे कान्छाकी छोरी
उन्नतिको जन्म हुनु चैँ उन्नति हुनु हैन?
रामको घरमा छोरी प्रगतिको
विवाह हुनु चैँ प्रगति हुनु होइन ?
हरिको छोरा परिवर्तनको
डिभी भिसा पर्नु चैँ परिवर्तन हुनु होइन?
आफ्नै घरमा विकाश,परिवर्तन,
समृध्दि, उन्नति, प्रगति चाहिने भए
छोरा/छोरी नाति/नातिना जन्मेपछि
तिनहरूको नाम विकास, परिवर्तन
समृध्दि, उन्नति, प्रगति राख्नै पर्ने
अनिवार्य नियम बनाउँ त
अनि हुने छन् घर घरमा
विकास, परिवर्तन
समृध्दि, उन्नति, प्रगति
र गनगनको अन्त्य
गनगनको पनि सीमा हुन्छ नि?
टेबल मुनिबाट खाए गनगन
टेबल माथिबाट खाए गनगन
बलात्कार गरे गनगन
दाइजो नलिई आएको निहुँमा
श्रीमतीको हत्या गरे गनगन
सहकारी खोले गनगन
युवायुवती विदेश पठाए गनगन
यता गनगन, उता गनगन
टेबलमुनि, टेबलमाथि जताबाट खाए
त के बिगारे ?
खान नपाएर त अनिकालमा त मरेनन्
बलत्कार गरे त के बिगारे ?
महाराजको जस्तो स्वानीलाई त छोडेनन्
दाइजोको निहुँमा स्वास्नी मारे
त के बिगारे?
दिनदिनै स्वास्नीलाई जाँड पिएर पीडा त दिएनन्
सहकारी खोले त के बिगारे ?
ठालुले चैँ मातृभूमिलाई ठग्दा केही नहुने
सहकारीले त केवल सर्वसाधारण मात्र ठगेको त हो
फेरि किन गनगन ?
बोर्डिङ्ग स्कुल खोले गनगन
एम्बुलेन्स नकिने गनगन
दमकल नकिने गनगन
दैनिक उपभोग्य वस्तुको भाउ बढाए गनगन
टेक्सी चलाए गनगन
भट्टी खोले गनगन
नारी बेचे गनगन
आखिर किन?
बोर्डिङ्ग खोले त के गलत गरे?
अढाई वर्ष नपुगी बालबालिकालाई
गधाझैँ भारी बोकी पढ्न बाध्य बनाएकै त हो
एम्बुलेन्स किनेनन् त के गलत गरे?
बिरामीको आफन्तले उपचारमा
खर्च गर्न नपाई बिरामी मरो
ऋणै लागेन, ऋण तिर्नै परेन
दमकल किनिन त के बिगारे ?
घर डढे, मान्छे डढे, गाउँ डढो
तर हामी बसेको कुर्सी त डढेनन्
ट्याक्सी किने त के बिगारे?
त्रिशुलीमा खस्दा छ जना त मरे
बस किनेको भए के छ जाना मात्रै मर्ने थिए?
भट्टी खोले त के बिगारे?
बस ड्राइभरले पिएर बसै चलाको त हो
देश ड्राइभरले जस्तो पिएर देश चलाएको हो र?
नारी बेचे त के बिगारे?
खाली नारीलाई झुक्याएर त बेचे नि
नेपाल आमालाई त बेचेको हो र?
त्यै भएर अब नगरौँ गनगन
जे भएका छन् ठीकै भएका छन्
जे भैरहेका छन् राम्रैका लागि भइरहेका छन्
र जे हुने वाला छन्, राम्रैका लागि हुनेछन् ।
हालः क्यालगेरी, क्यानाडा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

