अल्पायू
जीवनको तथ्यमा
दिँदैछ
जीवन्त दृष्टान्त
मरुभूमि तुल्य खडेरीमा
पेखर धर्तीलाई शृङ्गार्न
फक्राउँछ
आशाको कोपिला
छर्दै
अभूतपूर्व उमङ्गको सुवास
भर्दै
रसमय रङ्गहरूको मिश्रण
आज ऊ फूल बनेको छ
अब ऊ
शिशिरका
पतझर जङ्गललाई
सिकाउँछ
धैर्यको पाठ
बुझाउँछ
परिवर्तनको परिभाषा
देखाउँछ
समय प्रतिको भरोसा
अनि दर्शाउँछ
आफैँ प्रतिको विश्वास
किनकि
ऊ कोमल फूल बनेर फुलेको छ
पक्कै
वसन्तले सिकाउँछ
अतृप्त मानव मनहरूलाई
धैर्य,भरोसा र विश्वासको अर्थ
जब देखेका थियौँ
आफ्नै पातका विरहमा
खडेरी र डढेलोले जलेका
शिशिरका रुखहरू
र पनि थिएनन् विचलित विचराहरू
किनकि रुखहरूलाई थाहा थियो
प्रकृतिको शब्दकोषमा त्याग र भरोसाको अर्थ
आफूसँग केही नरहँदा
जलनको त्यो संघर्षमय उच्छ्वासमा
भएको हुन्थ्यो त विचलित
आज मिल्थ्यो र ?
नवपालुवाको साथमा उमङ्गको आभास
कहाँ पुरा हुन्थे होला र ?
सुन्दर फूल बनेर फुल्ने सपनाहरू
साँच्चै
अशान्त मानव मनहरू
सिक्नै पर्छ
शिशिरका रुखहरू र वसन्तका फूलहरूबाट
किनकि
आशा, धैर्य,आफू प्रतिको अटुट विश्वास
निरन्तरको लगाव र समयको भरोसामा
वर्षौंदेखिका उदान्त सपनाहरू
फुल्नेछन् एकदिन वसन्तका फूलहरु बनेर ।
बिर्तामोड न.पा. ७, झापा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।