फेरि भत्कियो
गाउँ जाने बाटो
श्रमदानमा घोरेटो काटिँदा
खच्चरका कर्पचमा चामल आउँथ्यो
भेडाका कर्पचमा नुन आउने भएको थियो
यस पालिको बर्खाको पहिरोले
गाउँ जाने बाटो भत्कियो
बाटोले
गाउँलाई शहरसँग जोड्थ्यो
गाउँका लागि उपभोग्य सामग्री
शहरबाट आउँथ्यो
शहरका लागि
शुद्ध, अर्गानिक उत्पादन पुग्थ्यो
कच्चा पदार्थ आउँथ्यो
निकासी, पैठारी दुवै हुन्थ्यो
बाटो भत्किँदा रोकियो
भौतिक रूपमा भत्केमा
पुनःनिर्माण गर्न सकिन्थ्यो
मन टुटेको छ
विश्वास भत्किएको छ
कहीँ केही आस छैन
कुण्ठा छ
अवरुद्ध छ
गाउँ जाने बाटो
शहरले स्वार्थका लागि
सम्झन्छ
गाउँ जाऔँ गाउँ हेरौँ
भन्नेहरूसँग पनि
स्वार्थ नै हुन्छ
आफ्नो गाउँ आफैँ बनाउँ
भन्नेहरू पनि त्यस्तै
गाउँको पाटीपौवा
पानी पँधेरो, बाटोघाटो
कसैको पनि सरोकार होइन
सरोकार हुन्थ्यो भने
चासो चिन्ता हुन्थ्यो
फ़ेरि भत्कियो
गाउँ जाने बाटो
पाखे, जौ, कोदो खाने
घैलामैला रहनेहरूका बाटो भत्किए
कसलाई केको पीर ।
परशुराम १२, उनरुवा, डडेल्धुरा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।