तिम्रो फोटो खिच्न पाएको दिन
तिमी ऐनाको विश्वास गर्दिनौ
मलाई कविता लेख्न नि आउँदैन
तिम्रो सामु भन्ने आँट नि आउँदैन
तर तिम्रो झझल्कोले मलाई छोड्दैन
प्रिया तिमीलाई के थाहा
तिमी कति सुन्दर छौ ?
तिम्रो सुन्दर मनको बयान गर्न नि मिल्दैन
मुहारको बयानले मनलाई न्याय नै गर्दैन
तिम्रो शान्तपन मुहारमा झल्किन्छ
ती हातपाउ दौडिए पनि
कर्महरूमा सेवा नै टल्किन्छ
तिम्रो मनको आनन्दपन बोलीमा पोखिन्छ
त्यै पोखिएका बोलीरुपी तिम्रा शान्त शीतहरूमा
आफूलाई सिञ्चित गर्न पाउँदा
यो उदास मनमा रोमाञ्च भरिन्छ
प्रिया तिमीलाई के थाहा तिमी
कति सुन्दर छौ ?
क्यामेराका अनेक फिल्टर प्रयोग गरेर
तिमीलाई तिम्रो रुप धेरै सुन्दर छ भनी
प्रमाण दिन मन लाग्छ
किनकि हामीले ऐना वा क्यामेराको सहाराबिना
आफ्नो चेहरा हेर्न सक्दैनौँ
मनको निरीक्षण नगरी आफ्नो मन कस्तो छ
थाहा पाउन सक्दैनौँ
तर पनि म राम्रो छु भन्नपछि पर्दैनौँ
तर मलाई भन्न मन लागेको छ
प्रिया तिमी धेरै सुन्दर छौ
सायद त्यसैले होला तिम्रो तस्बिर खिच्ने
मौका पाएको त्यो पलले म निकै खुसी छु
तिम्रो शान्तपनको तिम्रै मुहारमा विश्लेषण गरी
म पनि कविता लेख्ने कोसिसमा छु
जति गहिरिएर हेर्यो उती भन्न मन लाग्छ
प्रिया तिमी कति सुन्दर देखिन्छ्यौ
कति शान्त देखिन्छ्यौ कति आनन्दित देखिन्छ्यौ
साँच्चै प्रिया तिमी धेरै सुन्दर छौ
तर प्रिया
तिम्रो शान्तपनको बयान गर्ने शब्द मसँग छैन
तिम्रो सुन्दरताको वर्णन गर्ने आँट मसँग छैन
तिम्रो आनन्दपनको गहिराई नाप्ने शक्ति मसँग छैन
तिमीलाई बिर्सिएर जीवन जिउने रहर पनि मसँग छैन
त्यसैले प्रिया म कवि होइन मौनी हुँदा रमाउँछु
फोटो खिच्न पाएको दिनलाई धन्यवाद जनाउँछु
अनि एकान्तमा त्यै फोटो नियाली मनमनै रमाउँछु
र मनमनै दिव्यप्रेमको सन्देश तिमीलाई पठाउँछु
साँच्चै प्रिया तिमी धेरै सुन्दर अनि शान्त छौ
तिम्रो सम्झना र तिमी मेरालागि
जिउने एक अदृश्य आधार हौ ।
पाल्पा, बर्तुंग, फूलबारी
हालः अटवा, क्यानडा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।