त्यो पुरानो मान्छे
कहिल्यै थाक्दैन कहिल्यै गल्दैन
त्यो निखारिएको मान्छेले
कहिल्यै गन्तव्य फेर्दैन
बाँडिर थोपा थोपा ज्ञान
सुकेर आफू बनाउन सक्छ अरुलाई सागर
चम्किलो भुईँमा काला बिस्कुन सुकाएर
कञ्चन अन्न बनाउँछ र भरिदिन्छ अरुको पेट
उसका पैतालाका डोब र निला मसीहरूका निबले
हिँडिरहन्छ गन्तव्य, कोरिरहन्छ उज्यालो
एकदम निःस्वार्थ केही नपाउने आशामा
आफ्नो जीवन नै सकिदिन्छ उसले
उसका चम्किला आँखाहरू मधुरा भएसम्म
बरू आफ्नै सपना अधुरा भएसम्म
जसरी पिपल उभिरहन्छ बिसौनीमा
त्यसरी नै थकित कहिल्यै नभैकन
सबैभन्दा असल मित्र तिमी सधैँ हुन्छौ पनि
असल मार्ग देखाउने एक कुशल भगवान् बनी
चम्किला आँखाले चस्मा फेरेको थाहा पाउँदैन
सुमधुर बोलीले भाका फेरेको थाहा पाउँदैन
कालो कपाल रङ्गीन हुँदासम्म
मेरुदण्ड थकित हुँदासम्म
उसले आफ्नो कर्म निभाउँछ
ज्ञानले आफ्नो धर्म निभाउँछ
छोटो कद झुस्स दारी बोकेर
आफ्नै व्यक्तित्व बिर्सिएर
अरुको अस्तित्व स्वीकार्ने तिमीप्रति साधुवाद छ
अरुकै हित चिताउने तिमीप्रति हार्दिकता छ।

आम्चोक १, भोजपुर