अहिले याद आउँछ
उहिले गुरुले भनेका कुरा
रोऊ मज्जासँग रोऊ
हाँस मज्जासँग हाँस
जीवनमा यति गर्न सके पनि
धेरै कुरा गरेको ठहर्छ
त्यसैले म आजकल गुरुका अर्ति उपदेश
राम्ररी पालना गरिरहेको छु
मज्जासँग रोएको हुन्छु
मज्जासँग हाँसेको हुन्छु
अहिले त झनै रुन मन नलाग्दा पनि
रुनु पर्छ
हाँस्न मन नलाग्दा पनि
हाँस्नु पर्छ
त्यसैले म अचेल
यस्तै कुरामा अलमलिएको हुन्छु
भित्रभित्र आगोको तप्का दन्दनाउँदा पनि
आफ्नै लागि हाँस्न पर्दो रहेछ
शिशिर यामको सूर्यको रापलाई पनि
प्रचण्ड गर्मी भन्नु पर्दो रहेछ
त्यसैले
खै के हो यो जीवनको उत्तरार्द्ध
अरुकै लागि हाँस्नु पर्ने
अरुकै लागि रुनु पर्ने
मुटु दुखिरहँदा पनि दुख्यो भन्न नपाइने
छाती चर्चर्ती चिरिँदा पनि चस्कियो भन्न नपाइने
आफ्नो हाँसो हाँस्नै नपाइने
आफ्नो रुवाई रुनै नपाइने
कृत्रिम हाँसो कति हाँस्ने
कृत्रिम रुवाई कति रुने
त्यसैले
जीवनको उत्तरार्द्ध वाक्क दिक्क लाग्दछ
रमाउन त आफ्नै जिन्दगी
मज्जा हुँदो रहेछ
जुन अतीत भई नै सक्यो
अब सम्झेर पो के हुन्छ र ?
अब बिर्सेर पो के हुन्छ र ?
बरु जे भई रहेछ
त्यही नै ठीक रहेछ
यसरी नै चलिरहेछ
जीवनको उत्तरार्द्ध ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।