मुस्ताङको माथिल्लो भेग
पानीका मुहान सुके
गहुँ, उवा, जौ फलेनन्
भेंडा, च्याङ्ग्रा, चौँरीका चरनमा घाँस उम्रेनन्

लोमान्थाङ शून्य हुन लाग्यो
गाउँलेले गाउँ छाडे
लोमान्थाङेलाई अब अर्कै गाउँ चाहियो

चार वर्ष भो सामजुङमा हिउँ परेको छैन
हिउँ नपरेपछि चरनमा घाँस उम्रन्न
चरन भो मरुभूमि
अब गाईवस्तु कसरी पाल्ने ?
भेडाच्याङ्ग्रा कहाँ लगेर फाल्ने ??

पानीको मूल सुक्यो
खानेपानी छैन, सिँचाइ छैन
माटो सुकेर जर्जर छ, बाली फलेन
न गाईवस्तु बेच्न पाइयो र गुजारा गर्न पाइयो

भूस्वर्ग उजाडियो
मुस्ताङेको उठिबासै भयो

गाउँलेले बस्ती छाडेपछि
अब गाउँ केका लागि
मुस्ताङेहरू सोध्छन्‑
हामीले के पाप गर्‍यौँ र
गाउँ छाड्नुपर्‍यो,
अनि बस्ती नै उठ्नुपर्‍यो हजुर ?