म फूललाई माया गर्छु
फूलको सुन्दरता मन पराउछु
फूलको कोमलता मन पराउछु

अनेक मौसमी कुठाराघात सहँदै
फूलले फुल्नको लागि गरेको
उसको सङ्घर्ष मन पराउँछु
म हिमाललाई माया गर्छु
हिमालको स्वच्छता मन पराउछु
हिमालको कठोरता मन पराउछु

युगको तापलाई नटेरेर
कहिले विचलित नहुने
उसको अटलता मन पराउछु
तिनले मलाई के सोच्छन् ?
कहिले बुझ्न खोजिनँ
तिनको भावना जान्न
कहिले आवश्यक पनि ठानिनँ
तिनले मलाई जस्तो व्यवहर गरे पनि
मलाई माया गरे पनि, नगरे पनि
मैले ती फूललाई, ती हिमाललाई
माया गरिरहेँ, माया गरिरहन्छु
तिमी पनि त
त्यही फूल हौ
त्यही हिमाल हौ ।

कर्जन्हा न.पा.-३ बन्दीपुर
सिराहा