भाग १

म एउटी महिला, यस धर्तिको अत्यन्त व्यस्त प्राणी
घरमा गृहिणी भई रातो दिन काम गर्छु
कार्यालयमा एउटी कर्मचारी बनी
आफ्ना ससाना बालबच्चाको रेखदेख गर्छु
भोक, निद्रा , थकाई मान्दै नमानी

घर,भान्सा अनि करेसाबारी सबै
खरायोको रफ्तारमा सर्छु
बुडुल्की मार्दै, फिरिरिरी कुद्दै
उफ्रिदै भूमिका परिवर्तन गर्छु

म आमा बन्छु , बुहारी बन्छु
श्रीमती बन्छु अनि कर्मचारी बन्छु
सारा भार बोक्छु, कर्तव्य निर्वाह गर्छु
तर पनि समाजको नजरमा
औँला उठाएको एक पात्र बन्छु

म झुटको खेती सप्रिएको देख्ता
कराउँछु, चिच्याउँछु, आफैँ शान्त हुन्छु
नाच्छु, गाउँछु, गुन्गुनाउँछु
मौन हुन्छु, बोल्छु , आफ्नै अन्तरात्मासँग
भलाकुसारी गर्छु अनि बहस गर्छु

केही गर्दा नि रिस नमरेपछि
म लेख्छु, धेरै लेख्छु
मनका अन्तरतममा रहेका पराकाष्टालाई
शब्द शब्दबाट ऒकल्छु

हात बटारिने गरी
लेख्दा लेख्दा कलम नसर्ने गरी
औँला थाक्छ, हात थाक्छ अनि
कलम नि थाकेको भान हुन्छ

अनि म हलुङ्गो हुन्छु
मानौँ मेरो मस्तिस्कबाट
गह्रुँङ्गो भार कसैले बिसाएजस्तो अनि
म हावा बन्छु अनि आफ्नो गन्तव्यमा उड्छु

मानौँ लेख्दा लेख्दै गलेपछि
म आफैँले आफैलाई कवि देख्छु
दिनभरि चर्किएर सन्ध्यामा अस्ताएको
शितल अनि सुनौलो रवि देख्छु

म आफैँले आफैँलाई इमान्दार देख्छु
दयालु देख्छु, हिम्मतिली अनि दूरदर्शी देख्छु
कतै लम्पसार अनि कतै उल्टोपुल्टो परेको
घर व्यवहार सम्याउने एउटी असल
छोरी अनि बुहारी देख्छु

तर ठुलै प्रश्न, के म बाँचेको समाजले
के मलाई त्यसरी नै देख्छ ?
म समाजको नजरमा मगमगाउने पारिजात हैन
हिलोमा फुल्ने कमलको फूल बन्छु
समाजले हिलो मात्र देखे कमलको फूल देखेन
मैले गन्तव्यको फक्रिएको फूल मात्र देखेँ
हिलो देखिन ?

भाग २

म गहिरो तन्द्राबाट निसासिएर
सास नै रोकिएझैँ
गन्तव्यविहीन
अनि गहिरो खाल्डो
बिना सिँढीको परिस्थिति देख्छु
म उकुसमुकुस हावा नै नछिर्ने
अँध्यारो कोठामा आफैँलाई बन्धक भेट्छु

कोठा ढक्ढकाउछु, उँचो अवाज लगाउँछु
म कराउँदा कराउँदै चिच्याउँदा चिच्याउँदै
गलेर थाक्छु, मेरा घाँटी सुक्छ, मेरो सास रोकिन्छ
म बेहोसीमा पुग्छु केहीबेरका लागि सुस्ताउँछु

निकैबेरपछि अनायासै झ्यालबाट
एक त्यान्द्रो प्रकाशको रेखा देख्छु
उकुस्मुकुसिएको, टुक्रिएको, एक्लिएको
समाजको सर्वहारा पुरुषकी अर्धांगिनी

बाबा आमाकी प्यारी छोरी, सासूससुराकी बुहारी
जेठानी, देउरानी, बैनी, नन्द यति धेरै सम्बन्धबीच
मैले आफैँले आफैँलाई गुमनाम पाउँछु
मेरो हक, अधिकार, मेरो आत्मविश्वास
सबैभन्दा महत्त्वपूर्ण मैले मेरो “म” गुमाउँछु

धनसम्पत्ति गुमाउँदा खासै फरक नपर्ला
मिहिनेत गरे फेरि फेरि नि कमाउँला
म हराउँदा अनि मको आत्मसम्मान हराउँदा
केही उपाय त लाउनै पर्ला

सोचेँ, हराएको म खोज्न पुलिस चौकी धाउँ कि
माइती घरलाई खबर पठाउँ कि
साथीभाइसंग गुहार नि माग्नुपर्ला
महिला अधिकारकर्मी म नि उजुरी हाल्नुपर्ला

पहिलो उपाय पञ्चायत बोलाएँ
पञ्चायतले मैलाई औँला उठाए
अत्तालिनु पर्दैन तेरो म त श्रीमती, बुहारी
छोरी, बैनी यही सम्बन्धहरूमा गाभिएका छन्
यसबाट उम्किन असम्भव मृत्युवरणपश्चात मात्र
उम्किन सम्भव

भिडबाट सबैले मलाई गाली गर्दै औँला उठाए
मानमर्यादा भुलेर म खोज्दै हिँडछे
भलादमी भनेको पग्लनी पो रहिछे
पञ्चायतले मेरो एउटा अङ्गमा प्रहार गर्‍यो
त्यो अंग मेरा दरिला खुट्टा नै पर्‍यो

खुट्टा खुम्चाउँदै घरभित्र छिरेँ
परिवारले आँखा पल्टाएर खाउँला झैँ गरे
ठुलै गल्ती गरेको भान दिए
बाँकी भाको अर्को खुट्टामा तिरस्कारले हानदिए

घिसरिएर भए पनि
म खोज्ने आत्मबल बढ्यो
समाजबाट अशक्त बनाएको मेरो अस्तित्व
समाजको अट्टहासले लड्यो

भाग ३

दोस्रो अनि मजबुत उपाय “म” हराएको उजुरी हाल्न
प्रहरीसम्म पुगेँ, समाजको हजुरसाबको दब्दबी पुलिसमा देखेँ
बलात्कृत नाबालिक हुँदा त उजुरी लिन नमिल्ने हामी
विचरा म आफैँ खोज्न आको भन्दै ठूलै अट्टहास गरे

अन्योलमा परे, सम्झेँ, महिला अधिकारकर्मी
महिलाले महिलाको समस्या अवश्य बुझ्लान्
हराएको मको अस्तित्व खोज्न सँगसँगै जुट्लान्
हौसिएको आत्मबल त्यतिबेला चकनाचुर भयो
विदेशबाट आएको डलर बाबुसाहेबहरूकै
भागबण्डामा गयो

डलरको खेती गर्ने माझमा
कर्मचारी अनि गृहणी नअटाउने रहेछन्
देशको यो हालत देखेर हातखुट्टा हरायो
शरीरका बाँकी अङ्ग कामै नलग्ने भए

मुटु रोकिएझैँ, फोक्सो, किड्नी कामै नगरेझैँ
मुख, कान, आँखाले बोल्न, सुन्न अनि देख्न बन्द भए
थाकेको शरीर दोबाटोमा डङ्ग्रङ्ग ढलेँ
आत्मसम्मान खरानी भै दनदन्ती जले

वरिपरि सपनीझैँ कल्याङमल्याङ
झल्याकझुलुक देखेँ, कसैले भारी बोकेका
कोही कुटो कोदालो बोकी, कोही बच्चा च्यापी
कोही पुस्तक हातमा बोकी, कोही झोला काँधमा बोकी

मैले “म” खोजेजस्तै म खोज्न हिँडेका एक जमात देखेँ
म मरेर गए नि तिमी सबै विजयी भाव हावामै लेखेँ
सबल जमातले मलाई मर्न नदिने अठोट गरे
घाइते मलाई काँधमा बोकी “म” खोज्ने ठूलै आन्दोलन गरे

क्रान्ति गरे अनि विद्रोह गरे
पितृसत्तात्मक समाजमा
पुरुष “म” अनि महिला “म”लाई
एकै स्थान ल्याउने दृढ संकल्प गरे ।