पर्या चेतना
धुवाँको पर्दा मुनि
हरियो झन्डा !
अतिक्रमणको मार
विकासे पर्खालले घेरिएर
नहर बनेको बागमती
नदी र जीवनको
सम्बन्ध विच्छेदको कथा सुनाउँछ
कटुवाल दहदेखि वाग्द्वारसम्म
डुल्दै नाच्ने माछाहरू
विषाक्त ढलमा पुरिएको व्यथा सुनाउँछ ।
अन्ध आधुनिकताको भार
विकासे जहर
रातमा झिलिमिली बत्तीको चहक
नियोन र इन्यान्डेसेन्टको नृत्यमा
समयको साक्षी
नदी किनाराको मन्दिर
सांस्कृतिक आरोहणको दाग हेर्दै
समाधानका लागि दुख्छ
तर, राजधानी सहर
आत्म मुग्धताको चिसो अँगालोमा बेरिएर
बागमती सभ्यताको पीडामा बहिरो बन्छ ।
पर्या प्रेममा
बागमती पुकार
दिगो भविष्य !
खोल्सा, खोला र नदीमा शुद्ध पानी
सपनाहरूको प्रतिबिम्ब
सभ्यताको जननी
पवित्र बागमती
पुकार गर्छ — “प्रदूषणको पासोबाट बचाऊ ।”
“हे! सहरका बत्तीहरू
प्रिय नातेदारहरू
निरन्तरको दौड बन्द गर
आकाशका ताराहरूलाई
आफ्नो ठाउँ पुनः दाबी गर्न देऊ
रातमा चन्द्रमाको चमकमा रमाऊ
चराहरू र बच्चाहरूलाई निदाउन देऊ
प्रजननको प्राकृतिकता कायम गरेर
बिना मास्क सास फेर
बिना चस्मा सुन्दरता निहार ।”
“हे! तन्नेरी हो
मृत्यु विरुद्ध उठ
खोलाको रक्षक बनेर
सहरको धड्कनमा
आशाको चमक देऊ
चेतनाको कुचो चलाएर
प्रदूषणको ज्वार सफा गर
पर्यायमैत्री कार्यहरू मार्फत
बागमतीको सभ्यताको पुनर्जागरण गर ।”
भविष्य यात्रा
मौरी भई नाच्दछ
पर्या चेतना !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।