यमराजको प्रत्येक नाटक मञ्चनमा
म एउटा गतिलो रमिते बन्दै आएकी छु
मित्रहरू! नाटकका पटकथा यस्ता हुन्छन् कि
नबुझेरै बिचबिचमा म अचाक्ली घोत्लिने गर्छु
घरि उधुमै अलमलिन्छु त घरि बुझै झैँ पनि हुन्छु
यस्ता प्लटहरू पनि छन् कि, अनुत्तरित प्रश्नहरूका प्रहारले
ग्रस्त सोचहरू सम्हाल्दा सम्हाल्दै शुन्यतामा पुगेको हुन्छु
सम्हालिन खोज्छु हत्तपत्त, यता नाटकको पर्दा खस्छ
फगत रमिते म, नाटकलाई न बुझ्न सक्छु
न कुनै गतिलो प्रतिक्रिया नै दिन सक्छु
यमराजले, हो
उसले छानी छानी
उत्कृष्ट सपना भएका,
अथाह सिर्जनाले भरिएका,
उच्च अभिलासाले सजिएका,
बलियो महत्वकांक्षाले सिँगारिएका,
संसार बदल्ने अठोट लिएर हिडिरहेका
सबैलाई एक–एक गरी धर्ती लोकबाट लगे
खाँदा खाँदैको मिठो गाँस बिचैमा छाडेर,
बुन्दै गरेका सपनाहरू लथालिङ्ग पारेर,
संसार बदल्ने अठोटहरू त्यसै कुल्चेर,
महान बाटोमा निरन्तर हिँडिरहेका
यस लोकका लायक मनुष्यहरू
यमराजको पछिपछि गए
म रमितेले त्यो रमिता
चुपचाप हेरिरहेँ
अनि रंगमञ्चमा यमराजले गज्जबको नाटक मञ्चन गर्यो
जो जेको लागि योग्य थियो, उसलाई उल्टो भुमिकामा उतार्यो
जो जे नहुनु थियो, उसलाई उही हुनु पर्ने एउटा पात्रमा ढाल्यो
चुपचाप ती मनुष्यहरू यमराजको निर्देशनमा रंगमञ्चमा उत्रिए
नाच्न नजान्नेहरू नाच्न लागे, शब्द विहीनहरूले गाउँन थाले
यस्ता बिचित्र पात्रहरू देखेर रमाएका धर्तीका रमितेहरूले
ताली ठोक्दै रंगमञ्चका पात्रहरूको हौसला बढाउदै लगे
सामाजिक सञ्जालमा पात्रहरूलाई भाइरल बनाउँदै गए
कोही देव तुल्य भए, कसैलाई चर्चित सेलेब्रेटी बनाइए
त्यसैको सिकोमा धर्ती लोकले अनेक मञ्च खडा गरे
नाटकको पर्दा खस्दै गर्दा मैले
यमराजलाई अचाक्ली प्रसन्न देखेँ
यस्तो लाग्यो, उसको योजना साकार भयो
धर्ती लोकका यावत मानिसहरूलाई आज उसले
शत प्रतिशतमा उल्लु बनाउँन सफल भएको थियो
रंगमञ्चमा धर्तीका उत्कृष्ट मनुष्यहरूलाई पत्रु बनाएर
मानव सभ्यतालाई खिल्ली उडाउन सफल यमराजले आज
आफ्नो इशारामा चुपचाप उनीहरूलाई पछि लाग्ने जो बनाएको थियो